प्रतिनिधिसभामा बहुविवाह कानुनी बनाउने तयारीमाथि तीव्र विरोध

नेपालखोज २०८२ साउन १९ गते १६:१५

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले कानुनमा बहुविवाहका सम्बन्धमा हुन लागेको नयाँ व्यवस्थाको विषय उठान गर्दै विरोध जनाएका छन् ।

जनता समाजवादी पार्टीकी सांसद सुशीला श्रेष्ठले बहुविवाहलाई कानुनी मान्यता दिन लागेको भन्दै कडा आलोचना गरेका छन् । उनले बहुविवाहको छुट पाउने विधेयकलाई महिला समानता र संविधानप्रदत्त अधिकारमाथिको कुठाराघात रहेको बताए ।

श्रेष्ठले प्रस्तावित विधेयकले सम्पूर्ण महिलालाई चुनौती दिने कार्य भएको र महिलाहरू त्यसको डटेर विरोध गर्ने बताए । उनले प्रतिनिधिसभाभित्र गठन हुनुपर्ने महिला समन्वय समिति अझै गठन नहुनु दु:खद् भएको बताउँदै यो समितिको अभावले महिला मुद्दा प्रभावकारी ढङ्गले उठ्न नसकेको उल्लेख गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्मार्ट लाइसेन्स, पासपोर्ट, राष्ट्रिय परिचयपत्र छपाइजस्ता विषयमा भ्रष्टाचार भएको दाबी गर्दै सम्बन्धित मन्त्रीहरूले स्पष्टीकरण दिनुपर्ने माग गरे । उनले यी सबै नेपालमै छपाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिक्रिया