चन्द्रकोटवासी अस्पताल सञ्चालनको पर्खाइमा

नेपालखोज २०८२ साउन २१ गते ११:०५

गुल्मी । ‘म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ’, चन्द्रकोट गाउँपलिका-६ हरेवाकी लीलमाया शर्माले भने, ‘घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।’
शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत माया मारेर अस्पतालका लागि जग्गा दिए पनि अहिले सञ्चालनमा नआउँदा दु:ख लागेको बताए ।

उनको घरबाट नवनिर्मित १५ शय्याको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दूरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफूहरू अस्पताल सञ्चालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएका छन् । उनले नजिकैको अस्पताल सञ्चालनमा आए आफूजस्ता अन्यलाई पनि औषधि लिनका लागि बुटबलसम्म आवतजावत गर्ने समय र पैसाको बचत हुने बताए ।

उनले नि:शुल्क रूपमा चारआना जग्गा पनि प्रदान गर्नुभएको थियो । विसं २०७७ मङ्सिर १५ मा देशभरका ३९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शय्याका आधारभूत अस्पतालको शिलान्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका-६ मा १५ शय्याको आधारभूत अस्पतालको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शिलान्यास गरेका थिए । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटवासी सञ्चालनको पर्खाइमा छन् ।

स्थानीय कुमारबहादुर सार्कीले अस्पताल सञ्चालन नहुँदा उपचारका लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको बताए । उनले अस्पताल सञ्चालनका लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

चन्द्रकोट गाउँपालिका–६ मा १३ करोड ६६ लाख रूपैयाँको लागतमा १५ शय्याको भवन निर्माण गरिएको हो । चन्द्रकोटमा अस्पतालका साथसाथै चिकित्सक बस्ने दुईतले आवास भवन पनि निर्माण गरिएको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल सञ्चालनका लागि चिकित्सकको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरिएको बताए । रासस

प्रतिक्रिया