मंगलबार, मंसिर २३, २०८२

सन्दर्भ स्तनपान महिना : कार्यस्थलमा छैन स्तनपान कक्ष

नेपालखोज २०८२ साउन २१ गते १२:५७

चितवन । सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ । निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन् । यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ ।

तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरुले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन् । काम गर्ने थलोमा स्तनपान गर्नका लागि ठाउँको अभाव हुने गर्दछ ।

इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भण्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ । उनी कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा नवजात शिशुलाई जन्म दिए । शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले गर्दा नियमित स्तनपान गराउन पाएन । उनले भने, ‘घर र कार्यालय दुवैमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ ।’

कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उनको भनाइ छ । टाढा घर हुनेलाई बच्चाको हेरचाहादेखि नियमित स्तनपानको समस्या हुने गरेको उनले बताए । बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चालाई छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उनले बताए ।

बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरुलाई स्तनपान गराउन समय नमिल्ने उनले बताए ।

पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिनामात्रै नियमित स्तनपान गराउन पाएको बताए । काठमाडौंमा बसेर काम गर्दैगर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो गरे। उनले भने, एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्काेतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनु पथ्र्याे । आफूलाई जस्तै धेरै आमाहरुले यो समस्या भोगिरहेको सिलवाल बताए ।

भरतपुर महानगरपालिका–९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ । शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आएकी उनको बच्चा अहिले एक वर्ष छ महिनाको छ । नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उनले बताए।

सरकारी कर्मचारी उनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकताअनुसार स्तनपान गराउन कठिन हुने बताए । हरेक दुई-दुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उनको भनाइ छ ।

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र सबैभन्दा महत्वपूर्ण आहार भएको बताए ।

प्रतिक्रिया