संसद्कै समीक्षा गरौं : महामन्त्री शर्मा

नेपालखोज २०८२ साउन २१ गते १८:३४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्प्रति जनताको आस्था र विश्वास बढाउन संसद्का काम कारबाहीलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले संसद्को काम कारबाहीलाई समीक्षा गर्नुपर्ने आवश्यकता औंँल्याएका हुन् ।

उनले संसद् सरकार, कानुन र बजेट बनाउने थलोमात्रै नभएर आफ्नो कार्यशैली र व्यवहारबाट विश्वास सम्प्रेषण गर्ने साझा थलो पनि भएकाले त्यो अभिभारा पूरा गर्ने दायित्व सरकार र प्रतिपक्षी दल सबैको भएको बताए ।

महामन्त्री शर्माले भने, ‘संसद् कत्तिको सफल भइरहेको छ । सरकार कत्तिको प्रभावकारी भएको छ । प्रतिपक्षमा रहेका दलहरु सुझाव र दबाबको भूमिकामा कत्तिको प्रखर र जिम्मेवार बनेका छन् ? नागरिक पङ्क्तिमा रहेको आशा र विश्वासलाई सफलतामा बदल्न कत्तिको सफल भएका छाैं ?’ महामन्त्री शर्माले वर्षाैंपछि बनेका कतिपय विधेयक संसद्मा विचाराधीन रहेको, कानुन निर्माणमा उत्साहवर्द्धक प्रगति हुन नसकेको तथा कतिपय विधेयकमा असमझदारी बढेको र कतिपय दल सदन बहिस्कार गरेर हिँडिरहेको बताए ।

उनले भिजिट भिसा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गरे । यस विषयमा उच्चस्तरीय छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । कांग्रेस महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संयमता अपनाउन सुझाव दिए । महामन्त्री शर्माले सहकारी पीडितलाई पाँच लाखसम्मको रकम फिर्ता गराउने प्रक्रियामा अविलम्ब गति बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया