दुग्धेश्वरनाथको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

पर्सा । यहाँको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण बजेट अभाव र प्रक्रियागत झन्झटका कारण वर्षौँ देखि अधुरो बनेको छ ।
विगत १५ वर्षदेखि चन्दा सङ्कलन गरेर धर्मशाला निर्माण गरे पनि पर्याप्त बजेट अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन । दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समितिका अध्यक्ष अलखदेवप्रसाद थारूले धर्मशालामा एक हजार बढी भक्तजन बस्न मिल्ने भए पनि आधारभूत पूर्वाधार तयार भइनसकेको बताए ।
राष्ट्रिय निकुञ्जभित्र भएकाले अत्यावश्यक संरचना निर्माण गर्न विभिन्न प्रक्रियागत झन्झटले थप समस्या हुने गरेको उनको भनाइ छ ।
दुग्धेश्वरनाथ महादेव मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल पटेलले हालसम्म चन्दा सङ्कलन गरेरै धर्मशाला निर्माणमा करिब एक करोड ५० लाख रूपैयाँ भन्दा धेरै रकम खर्च भएको बताए । अध्यक्ष पटेलले धर्मशाला निर्माण सम्पन्न गर्न अझै करिब दुई करोड रूपैयाँ लाग्ने बताए ।
पर्सा राष्ट्रिय निकुञ्जभित्रको जङ्गलभित्र चुरेपहाडको डाँडामा दुग्धेश्वरनाथ महादेव र भगवती पार्वतीको मन्दिर छ । मन्दिरमा साउनभरि मेला लाग्ने गर्छ । यहाँ आउने दशनार्थीमध्ये ७५ प्रतिशत भारतीय र २५ प्रतिशत स्वदेशी हुने गर्छन् ।
राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले जङ्गली जनावरको जोखिम हुने भएकाले बेलुका ७:०० बजेपछि मन्दिर जाने सडक बन्द गरिन्छ । बिहान ६:०० बजेपछि सडक खुलाउने गरिन्छ । अन्य सिजनमा यहाँ जान रोक लगाइने गरिन्छ । रासस

प्रतिक्रिया