जलविद्युत क्षेत्रको बिमा सम्बन्धी समसामयिक विषयमा छलफल

नेपालखोज २०८२ साउन २२ गते १७:१४

काठमाडौं । नेपाल बिमा प्राधिकरणको आयोजनामा बिहिबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समसामयिक विषयमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग छलफल सम्पन्न भएको छ ।

जलविद्युत क्षेत्रको बीमाका सम्बन्धमा देखिएका समस्या एवम् चुनौतीहरू, इपानले उठाएका विषय र त्यस सम्बन्धमा नेपाल बीमक संघ तथा पुनर्बीमकहरूको धारणा लगायतका विषयमा छलफल गरी समाधान पहिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले जलविद्युत क्षेत्रको बीमामा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्दै सेवालाई दिगो एवम् राम्रो बनाउने र लागत न्यून गर्ने सन्दर्भमा पहल शुरू गरिएको बताए ।

कार्यकारी निर्देशक सुवेदीले इपानले उठाएका जलविद्युत क्षेत्रको बीमा सम्बन्धी विषयहरूलाई प्राधिकरणले गम्भीर रूपमा लिएको उल्लेख गर्दै जलविद्युत र बीमा, व्यवसाय सँगसँगै सेवा पनि भएकाले यस सम्बन्धी समस्याको समाधानका लागि सन्तुलित विन्दु खोज्नुपर्ने र हाम्रो देशको जस्तै सामाजिक तथा आर्थिक परिवेश भएका र जलविद्युत विकास गर्दै आएका अन्य देशहरूको अभ्यास समेतलाई हेर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यकारी निर्देशक सुवेदीले जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण, बीमा सचेतना अभिवृद्धि र जलविद्युत क्षेत्रको बीमा सम्बन्धी समस्याहरूको समाधानका लागि आन्तरिक संयन्त्रलाई सबल बनाउनका लागि प्राधिकरणले पहल गर्ने जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले जलविद्युत क्षेत्रको बीमामा देखिएका समस्या एवम् चुनौतीहरूको समाधानका लागि सम्बद्ध सरोकारवालाहरूबाट सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा इपानका पदाधिकारीहरूले जलविद्युत क्षेत्रको बीमाको प्रिमियममा हाल कायम रहेको बीमादरको व्यवस्था हटाउनुपर्ने, खुला बजार अर्थतन्त्रमा माग र आपूर्तिका आधारमा बजारले नै बीमादर निर्धारण गर्ने व्यवस्था गर्नुपर्ने, जलविद्युत क्षेत्रको छुट्टै बीमालेख निर्माण गर्नुपर्ने लगायतका धारणा राखेका थिए ।

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, इपानका पदाधिकारीहरू, नेपाल बीमक संघका पदाधिकारीहरू र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया