ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

नेपालखोज २०८२ साउन २३ गते ७:५०

ललितपुर । ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा हेरेर बसेका उनीहरूले प्रायः दैनिकजसो ललितपुर वितरण केन्द्रमा गएर आफ्ना गुनासा सुनाउने गरेका थिए ।

त्यतिमात्र होइन, महानगरको वडा नं २२ र २१ अर्थात् बुङ्गमती क्षेत्रका जनताका धारामा पनि लामो समयसम्म पानी आएन । त्यहाँका जनता खानेपानीका लागि घण्टौँ यात्रा गरेर पानीको मूल धाउन बाध्य भए । उनीहरू डोकोमा गाग्री र पानीका बोतल बोकेर खानीपानीको मुहान खोज्न भौतारिए । गत वर्षको असोजमा गएको बाढीले सो क्षेत्रको खानेपानी पाइपलाइन विच्छेद गरिदिएको थियो । त्यसबेलादेखि सरकारले खानेपानी समस्यामा ध्यान नदिँदा समस्या झनै जटिल बन्दै गयो र अन्ततः उपभोक्ताले दुःख भोग्नुपरेको हो ।

उल्लेखित क्षेत्रका हुनेखाने उपभोक्ताले ट्याङ्करको पानी किनेर ल्याएर दैनिकी चलाए । त्यतिमात्र होइन पहुँचवाला र विशिष्ट व्यक्तिका घरमा उपत्यका खानेपानी लिमिटेड (केयुकेल)का ट्याङ्करमार्फत पानी पुर्याइयो । तर, सर्वसाधारणका भान्सामा न चर्को मूल्यका ट्याङ्करको पानी पुग्न सक्यो न त केयुकेलकै । हजारौँ सर्वसाधारण खानेपानीको प्राकृतिक मुहान खोज्दै हिड्न बाध्य भए । उनीहरू पानी बोक्ने जार, गाग्री र बोतल लिएर सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य भए । यस्ता समस्या उल्लेखित वडाको मात्र होइन, ललितपुर जिल्लाकै हो ।

घरमा जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका स्थानीय गुनासो बोकेर दर्जनौँपटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा धाउँदै आए, अझै धाइरहेका छन् । केही स्थानमा तत्कालका लागि समस्या समाधान भए पनि अधिकांश स्थानका समस्या जिउँको तिउँ छ ।

ललितपुर महानगर–२५ का वडाध्यक्ष दौलतकुमार खत्रीले दुई साताअघि आफ्नो वडामा खानीपानीको हाहाकार हुँदा ठूलो समस्या भएको बताए । दैनिकजसो उपभोक्ता वडा कार्यालयमा गुनासो लिएर ‘डेलिगेसन’ आउने गरेको उनले सुनाए । निरन्तर सम्बन्धित निकायमा झकझक्याउँदा पनि समस्या समाधान नहुँदा हैरान भएको उल्लेख गर्दै अध्यक्ष खत्रीले ठूलो परिश्रमपछि २१ दिनपछि जनताका घरका धारामा पानी आएको बताए ।

त्यसैगरी, ललितपुर महानगर–२५ का अध्यक्ष रवीन्द्र महर्जन भने, गत वर्षको असोजमा गएको बाढीले खानीपानी संरचना भत्काएको र ती संरचनालाई अस्थायी रूपमा टालटुल गरिए पनि समस्या समाधान नभएकाले खानीपानीको समस्या भएको हो, फर्पिङबाट ल्याएको पानी वाग्मती नदीमा आएको बाढीले विच्छेद गरिदिँदा बुङ्मतीलगायत भैँसेपाटी क्षेत्रमा खानेपानी ठप्प भयो । निरन्तर खानीपानी मन्त्रालय, कार्यालय धाउँदाधाउँदा बल्ल २१ दिनपछि जनताका घरमा पानी पुर्याउन सकियो ।

अध्यक्ष महर्जन आफैँ खानीपानीको पाइप जडान गर्नका लागि वडाका साथीहरूसँगै निरन्तर दुई सातासम्म खटिएका थिए । निरन्तरको प्रयासले तत्कालका लागि यस क्षेत्रमा खानेपानीको समस्या समाधान भएको उनले बताए ।

त्यसैगरी, समाजसेवी एवं महानगरको वडा २५ का स्थानीय देवेन्द्रकुमार गौतम भने, खानेपानीजस्तो संवेदनशील विषयमा राज्य गम्भीर भएर नलाग्दा जनता प्रताडित हुनुपरिरहेको छ, खानेपानीमा पनि राजनीति हुने गरेको र समस्या समाधानमा आलटाल गर्दा जनताले दुःख भोग्नु परेको छ । सम्बन्धित निकायले बेवास्ता गर्दा गत वर्षदेखिको समस्या समाधान गर्न ढिलाइ भएको उनको भनाइ छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखा कार्यालयका अनुसार ललितपुर जिल्लामा करिब ५० हजार बढी धारा जडान गरिएको छ । ती धारामा मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको पानी तथा फर्पिङ स्टिम प्रणालीबाट पानी निरन्तर पठाउन सकिएमा ललितपुरमा खानेपानीको समस्या समाधान हुनसक्ने कार्यालयको भनाइ छ ।

गत वर्ष असोज १२ गते गएको बाढीका कारण ललितपुरका विभिन्न ठाउँमा पाइपहरू टुटफुट भएका थिए र हालसम्म ती समस्याको समाधान नभएकै कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका कार्यालय प्रमुख विजय विश्वकर्माले स्वीकार गरे ।

उनले भने, गत वर्षको बाढीका कारण धेरै पाइपहरूमा क्षति पुगेको छ । चापागाउँ र फर्पिङ स्टिमबाट पानी पर्याप्त मात्रामा आउन सकेको छैन । फर्पिङ स्टिमबाट प्रतिदिन दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल पाइपमा आएको समस्याका कारण एक करोड २० लाख लिटरमात्र पानी ल्याएका छौँ । मेलम्चीको पानी पनि बन्द भएको छ । स्थानीयलाई पानी पुगेको छैन र गुनासो आएको छ ।

प्रतिक्रिया