कोरोनाको बन्दाबन्दीमा चित्रकार बनेकी कृपा

नेपालखोज २०८२ साउन २३ गते २०:१२

पोखरा । कोरोना महामारीले विश्व आक्रान्त थियो । बन्दाबन्दी (लकडाउन)का कारण विश्वको अर्थतन्त्र सुस्ताउँदो थियो भने अवसरहरु खुम्चिँदै थिए । विदेशी पर्यटकले सधै गुल्जार हुने पर्यटकीय नगरी पोखरा सुनसान बनेको थियो । लम्बिँदै गएको लकडाउनका कारण मानिसहरुमा निराशा बढ्दो थियो ।

त्यही समयमा पोखरा-१३, कुँडहरकी कृपा श्रेष्ठको जीवन नयाँ अध्यायमा प्रवेश गर्‍यो । लकडाउनले बनाएको फुसर्दिलो दैनिकीमा उनी रहरले क्यानमासमा खेल्न थाले । मनमा दबिएका भावनालाई ब्रसमार्फत क्यानभासमा पोख्ने रहर यतिबेला उनको पहिचान बनेको छ ।

वर्षौदेखि मनको कुनामा थन्किएका उनका सिर्जना जब सबैको आँखामा देखिन थाले, उनको जीवनले सफलताको नयाँ रङ देख्न थाल्यो । लामो समयसम्म सेतो कागजमा रङ्गविहीन सपना कोरेरै चित्त बुझाएकी थिएँ, श्रेष्ठले भने, कोभिडले मलाई आफैँभित्रको कलाकारसँग भेट गराइदियो, यो आफूलाई चिन्ने एउटा सुनौलो अवसर थियो ।

डेनमार्कमा लिडरसीप विषयमा स्नातक सकेर सात वर्ष पश्चात सन् २०१७ मा नेपाल फर्किएपछिको उनको दैनिकी सामान्य अवस्थामै चलिरहेको थियो । पारिवारिक जिम्मेवारी पूरा गर्दै दिन बितिरहेका थिए । सन् २०२० मा जब कोभिड महामारीले सबैलाई घरभित्रै सीमित बनायो, उनी पनि अरु जस्तै लकडाउनको बन्दी भए । एक दिन बच्चालाई पढाउने बहानामासँगै टेबलमा बस्नुभयो । त्यो अप्रिलको महिना थियो, उनलाई अझै याद छ । त्यही समयमा उनले एउटा कागजमा मण्डला कोरे ।

रहरमा कोरिएको चित्र यति सुन्दर बन्यो कि उनी आफैँ अचम्ममा परे । आहा ! मैले यति राम्रो मण्डला बनाएँ भने, उनले कोरोनाकाल सम्झए । त्यही दिनदेखि उनको जीवनमा नयाँ अध्याय सुरु भएको हो भने उनी । त्यसअघिका दिनमा अरुका कला हेरेर दङ्ग पर्ने उनी आफूभित्र नै कला कोर्ने अद्भूत क्षमता छ भन्ने कहिल्यै लागेन । यसपछिका दिनमा उनले आफूलाई एक कलाकारको रूपमा नयाँ परिचय दिएका छन् ।

दिउँसो घरको जिम्मेवारी र रातको सुनसान समय उनको क्यानभास बन्यो । सुरुमा कालो–सेतो (मोनोक्रोम) चित्र बनाउँदै गर्दा रङसँग खेल्दै क्यानभासमा हराउने उनको बानी भयो । उनलाई आकाशको नीलो र धर्तीको हरियो रङ्गसँगको सामिप्यता निकै मनपर्छ ।

मेरा सिर्जनाहरू केवल चित्र मात्र होइनन्, भावना र विचारका अभिव्यक्ति हुन्, स्वतन्त्रता, महिला सशक्तीकरण, विद्रोह, शान्ति, प्रकृति र संस्कृति जस्ता विषय मैले बनाएका कलामा भेटिन्छन्, उनले भने ।

आफूले कोरेका चित्रमा बारम्बार प्रयोग हुने गोलाकार आकृतिहरू यही ब्रह्माण्डीय सम्बन्धको प्रतीक रुपमा लिन सकिने उनको भनाइ छ । उनी कहिलेकाही दिन रात नभनी कलामा डुबेर काम गरे । कुनै चित्र दुई-चार दिनमै तयार भएका छन् भने कुनै चित्र महिनौँ समय खर्चिर पनि बनेका छन् ।

कृपाले आजसम्म औपचारिक एकल कला प्रदर्शनी गरेको छैन । यद्यपि विभिन्न आर्ट प्रर्दशनीमा उनको कलाले कलापारखीहरूको मन जित्न सफल भएको छ । उनको पहिलो चित्र, ‘सेभेन चक्र अफ लाइफ’ थिममा बनेको बुद्धको डट मण्डला, सात हजार रुपैयाँमा बिक्री भयो । त्यसपछि उनको कलाको माग बढ्दै गयो र व्यावसायिक यात्राको बाटो खुल्यो ।

प्रतिक्रिया