सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म केसी पक्षले गर्ने अधिवेशनमा सहभागी नहोउ, पैसा पनि नपठाऔं : अध्यक्ष महेश श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म राष्ट्रिय समन्वय परिषद्लाई धैर्य गर्न आग्रह गरेका छन् । अहिले एनआरएनएको आधिकारिकता समबन्धी सबै मुद्दाहरु सर्वोच्च अदालतको पूर्ण इजलासमा पुगेकाले ती मुद्दाको निरुपण नहुँदासम्म केसी पक्षले गर्ने अधिवेशन अवैध हुने पनि अध्यक्ष श्रेष्ठले प्रष्ट पारे ।
हालै सम्पन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) निर्वाचनमार्फत निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै अध्यक्ष श्रेष्ठले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई वैधानिक अन्तर्राष्ट्रि समन्वय परिषद्सँग सहकार्य गर्न आग्रह गरे । अक्टोबरमा बद्री केसी पक्षले गर्न खोजेको महाधिवेशनको कुनै पनि औचित्य नभएको बताउँदै त्यसलाई रोक्नका लागि वर्तमान कार्यसमितिले कानुनी कदम चाल्ने पनि प्रष्ट पारे ।
श्रेष्ठले आफूले एनसीसी विभाजन गर्न नचाहेको बताउँदै सबै पक्षलाई एकताबद्ध एनआरएनए निर्माणका लागि जिम्मेवार बन्न आग्रह गरे । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले मे ३-४ मा गराएको अधिवेशनबाट निर्वाचित कमिटीलाई रोक लगाउनका लागि केसी पक्ष अदालतमा जाँदा अन्तरिम आदेश पनि नआएकाले कोही पनि भ्रममा नपर्न आग्रह पनि गरे । एनआरएनसँग सम्बन्धित ६ वटा मुद्दा पूर्ण इजलासमा पुगेकोले चाँडै अदालतबाट निकास निस्कनेमा आशावादी रहेको पनि उल्लेख गरे ।
वैधानिक कार्यसमितिलाई मान्ने र एकतामा सहयोग पुर्याउने एनसीसीलाई आफू नेतृत्वको कार्यसमितिले आधिकारिक एनसीसीको रुपमा मान्यता दिने बताए । उनले अदालतमा विचाराधीन मुद्दाको भविष्यमा आउने फैसलाको सम्मान गर्ने बताउँदै आफूहरुले एक्सन ओरिएन्टेड कार्यक्रमहरु सुरु गरेको जानकारी गराए । उनले सेप्टेम्बर २१ तारिखमा संघको साधारणसभा युएईमा र अक्टोबर ११ तारिखमा काठमाडौँ एनआरएन लगानी शिखर सम्मेलन आयोजना गर्न लागिएको बताए ।
कार्यक्रममा एनसीसी दक्षिण कोरियाका अध्यक्ष बिपीन गुरुङले वैधानिक कमिटीलाई साथ दिनका लागि आफूहरु तयार रहेको बताउँदै सहमतिका साथ अगाडि बढ्न आग्रह गरे । एनसीसी पोर्चुगलकी अध्यक्ष दीपा काफ्लेले आइसीसीमै भएका साथीहरुबाट केही अप्ठेरो परेको बताइन् । उनले संस्था बचाउनका लागि आफु हरुले सक्दो प्रयास गरि रहेको बताउंदै पदाधिकारी र सल्लाहकारहरुलाई व्यक्तिगतरुपमा नगएर संस्था बचाउन लागि लागि पर्नु पर्नेमा जोड दिइन् ।
एनसीसी कुवेतका अध्यक्ष दिलकुमार पाख्रिनले नचाहँदा नचाहँदै संस्थामा फुटको अवस्था आएको बताए । बद्री केसी समूहले समानान्तर कमिटी बनाएर संस्थालाई विभाजन गर्न खोजे पनि आफूहरु महेश कुमार श्रेष्ठ नेतृत्वको कमिटीसँग सहकार्य गरेर जानका लागि अधिवेशन गरेर आएको पनि उनले बताए । एनसीसी क्यानाडाका प्रवक्ता लिला थापाले कदरको विवादले गर्दा एनसीसीहरु निकै अप्ठेरो मा परेको बताए । उनले संस्थालाई एकजुट बनाउनु को विकल्प नरहेको बताए ।
एनसीसी जर्मनीका उपाध्यक्ष सिजन दाहालले बद्री समूहबाट आफ्नो कार्यसमितिलाई धेरै नै दबाब आएको बताए । उनले अब आउने कार्यसमितिले अदालतको निर्णय नआउँदा सम्म कुनै पनि आइसीसीसँग सहकार्य नगर्ने बताए ।
एनसीसी स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले सबैसँग सहकार्य गरेर अघि बढेको बताए । सबैलाई लिएर अगाडि हिँडेका छौं । सबै विचार बोकेका साथीहरु एक ठाउँमा रहेको उनले बताए । आफू एनआरएनएमा काम गर्नकै लागि आएको बताउँदै सकारात्मक अभिव्यक्तिहरुलाई मात्रै स्वीकार गरिने उनले बताए ।
एनसीसी माल्टाका अध्यक्ष रेम्श खनालले बद्री केसी समूहले माल्टामा भाँडभैलो मच्चाएको बताए । उनले आफुहरुले ’गुड फेथ’ मा हदै सम्म सहयोग गर्दा पनि राजनीतिक पूर्वाग्रह राखिएको उनले गुनासो गरे । उनले सम्बन्धित देशका कुटनीतिक नियोगहरुमार्फत आधिकारिक एनसीसीको बारेमा पत्राचार गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया