थारु अष्टिम्की चित्रकला कार्यशाला सम्पन्न

काठमाडौं । विश्व आदिवासी दिवसको सन्दर्भमा आज अग्रासन थारु महिला समाज, काठमाडौं र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आज ‘थारु अष्टिम्की चित्रकला कार्यशाला’ सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जनजातीय कला र नेपाली सांस्कृतिक पहिचानलाई अन्तरराष्ट्रियस्तरमा पु¥याउन सकिने धारणा व्यक्त गरे ।
उनले भने, ‘यस्ता पहलले एकता, सद्भाव र चेतनाको विकास गर्दछ । हामी को हौँ भन्ने प्रश्नको उत्तर सांस्कृतिक जागरणबाट दिन सकिन्छ । अष्टिम्की कला थारु जनसमुदायको मौलिक पहिचान हो र यसको संरक्षण तथा प्रवर्द्धनले राष्ट्रिय एकता सुदृढ बनाउँछ ।’ अग्रासन थारु महिला समाजकी उपाध्यक्ष किरण चौधरीले अष्टिम्की चित्रकला नयाँ पुस्तामा हस्तान्तरण गर्न र यसको महत्व बुझाउन कार्यशाला आयोजना गरिएको बताए ।
थारु संस्कृतिका अध्येता शत्रुघन चौधरीले कार्यपत्र प्रस्तुत गर्दै अष्टिम्की कला थारु समुदायको एक महत्वपूर्ण प्रदर्शनकारी सौन्दर्यकला रहेको बताए ।
अष्टिम्की थारु समुदायको मौलिक पर्व हो, जुन कृष्णाष्टमीका दिन मनाइन्छ । विशेष गरेर थारु महिला साउन÷भदौ महिनाको कृष्णपक्षमा पर्ने अष्टमीको दिन ब्रत बसेर परम्परागत शैलीमा मनाउने गर्दछन् ।
यो दिन अष्टिम्की चित्र बनाएर पूजा गर्ने गर्दछन् । यो कार्यशाला दोस्रो पटक आयोजना गरिएको हो । कार्यशालामा ५० भन्दा बढी सहभागी थिए । उनीहरुलाई चित्रकार विष्णु चौधरी र बलराम चौधरीले प्रशिक्षण दिए । -रासस

प्रतिक्रिया