सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

नेपालखोज २०८२ साउन २७ गते १३:४८

वीरगञ्ज (पर्सा) । पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले आफ्नो खेतमा रोपाइँ गरेको पनि एक महिना बितिसक्यो । तर, अहिले पनि उनलाई आवश्यक पर्ने मलखाद (रासायनिक मल) भने प्राप्त गर्न सकेको छैन । ‘एक त खडेरी लागेर यहाँको धानको रोपो जोगाउनै मुस्किल भयो,’ उनले भने, ‘अहिले भने धानमा हाल्नुपर्ने मलको भने चर्काे अभाव छ ।’

उनले धानखेती गर्नका लागि आवश्यकता अनुसारको मल नपाइरहेको गुनासो गरे । सोझासिधा कृषकलाई कहिले त पानीको समस्या हुने गर्छ, उनले भने, गाउँका टाठाबाठाले त सोर्सफोर्स लगाएर भए पनि जसरी पनि मलको जोहो गर्छन् । हामी त कसलाई भन्नु भनेर बसिरहनुपरेको छ । अहिले तराई–मधेसका कृषकले धानमा युरिया मल छर्ने बेला भएको छ । तर, यहाँ युरिया मल प्राप्त गर्न भने धेरै मुस्किल पर्ने गर्छ । उनी मात्रै होइन, वीरगञ्ज महानगरपालिका–२८ बगहीका चार बिघा धान खेप्ती गर्दै आउनुभएका गेनालाल पटेल पनि अकासेपानी परेसँगै कृषकमा आशाको तन्द्रा जगाएको बताए ।

यहाँ पानी परेपछि अलिकति धान हुन्छ कि भन्ने आशा जगाउने काम भइरहेको छ, उनले भने, सुक्खाग्रस्त हुँदा त धानको रोपो तथा बीउ पनि सुकिसकेको थियो । बीउ र धानको रोपो दुवै पलाउने आशा त जगाएको छ । उनले पछिल्ला दिनमा अकासेपानी परे पनि मलखादको समस्याले अर्काे तनाव सिर्जना गरेको गुनासो गरे । कृषि कर्म गर्नेलाई कहिल्यै पनि शान्त भएर बस्न पाइँदैन, उनले भने, हामी त अभावै अभाव झेल्दै आइरहेका छौँ ।

कहिले पानीको अभाव, कहिले मलखादको अभाव यो त सामान्य जस्तै भइसकेको छ । कृषि ज्ञान केन्द्र पर्साका अनुसार आव २०७८/७९ मा पर्सा जिल्लामा १६ हजार ९६७ मेट्रिक टन रासायनिक मलको प्रयोग भएको थियो । केन्द्रका अनुसार सो वर्ष युरिया मल १० हजार ९० मेट्रिक टन, डिएपी छ हजार ९६ मेट्रिक टन, पोटास २७५ मेट्रिक टन प्रयोग गरिएको थियो । पछिल्ला तीन वर्षमा मलको कति प्रयोग गरिन्छ भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन ।

केन्द्रका प्रमुख रामजीवन ठाकुरले पर्साको कृषियोग्य जमिनको उर्वराशक्ति घटेसँगै रासायनिक मलखाद अत्यधिक प्रयोग हुने गरेको बताए । सरकारी मापदण्डअनुसार प्रतिकट्ठा तीन-चार किलोग्राम मल प्रयोग गर्नुपर्ने हुन्छ तर धेरै खेती उब्जाउने नाममा कृषकले प्रतिकट्ठा आठ-१० किलोग्राम रासायनिक मल प्रयोग गर्दछन्, उनले भने, कृषकले अत्यधिक मात्रामा मल प्रयोग गर्ने भएकाले पनि अभाव हुने गरेको हो । पर्सामा मलको उपलब्धता ६० प्रतिशत मात्रै पर्सामा कृषकको मागअनुसार सरकारी अनुदानको मल उपलब्धता गराउन भने सकिएको छैन ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सरकारले तोकेको कोटाअनुसारको मलले ६० प्रतिशतको माग मात्रै पूरा गर्ने बताए । दुवै संस्थाले स्थानीय पालिकाको सिफारिसमा सम्बन्धित पालिकाका सहकारी संस्था तथा डिलरलाई उपलब्ध गराउने गर्छन् । रासायनिक मल खेतीयोग्य जमिनको क्षेत्रफल, विगत आवको मलको खपतको अभिलेख र बाली सघनताका आधारमा स्थानीय तहको कोटाअनुसार रासायनिक मलको बाँडफाँट गर्ने गरिन्छ । जिल्लाका १४ पालिकामा करिब १०९ डिलरमार्फत रासायनिक मल उपलब्ध गराउने गर्दछन् ।

प्रतिक्रिया