प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने सांसदहरूले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरे ।
याे अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले राष्ट्रियसभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ कहाँ छ भन्ने प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा आएको विधेयक यथासक्य चाँडो पारित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सदनमा आफूले उठाएका विषयवस्तुमाथि सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा सरकारको ध्यानाकर्षण गरे ।
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका कारागारको वस्तुस्थितिको अध्ययन गरी सुधारका निम्ति तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरे ।
नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले कारागारमा कैदीबन्दीबीच झपड भई ज्यान जानेसम्मका घटना हुनु चिन्ताको विषय भएकाले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण गरिन् ।
एमाले सांसद ईश्वरबहादुर रिजालले सदन बहिष्कार नभई बहसको थलो भएको उल्लेख गर्दै बहिष्कार गर्ने सांसदले जनताको आवाज दबाउने काम गरिरहेको टिप्पणी गरे ।
एमाले सांसद ईश्वरी घर्तीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा त्रुटि हुँदा विद्यार्थी र अभिभावकले समेत मानसिक तनाव व्यहोर्नुपर्ने भएकाले परीक्षाको प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले यही साउन १२ गते हुम्लाको लिमी गाउँमा पुन: हिमपहिरो जाँदा सिङ्गो गाउँ नै जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रका प्रभावित जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग अनुरोध गरे ।

प्रतिक्रिया