लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८२ साउन २७ गते १७:३४

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २९ ग्राम र नगद १२ हजार ४५० रूपैयाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धनकुटा पाख्रिबास नगरपालिका-५ घर भएका ३१ वर्षीय डिल्ली बहादुर कटुवाल र काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ३० वर्षीय शैलेश थापा मगर रहेका छन् । प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले डिल्ली बहादुरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-१६ गणेशस्थान मार्गबाट नियन्त्रित लागूऔषध नोर्फिन १२ एम्पुल, डाईजेपाम १२ एम्पुल, फेनारगन १२ एम्पुल र नगद ९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने ३७ वर्षीय प्रदिप खड्गीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्ध स्तुपाबाट नियन्त्रित लागूऔषध नोर्फिन ३९ एम्पुल, फेनारगन ३९ एम्पुल, डाईजेपाम ४० एम्पुल र नगद ९० हजार रूपैयाँसहित ललितपुर कुपनडोल बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका २५ वर्षीय मनोज श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको झापा गाउँपालिका-४ सुकुमबासी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-९ मिलनचोक बस्ने ३१ वर्षीय अनिल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प ६८३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका-३ स्थित मेचीवान होटेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम र नगद १ लाख २२ हजार ९० रूपैयाँसहित ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-८ बस्ने २४ वर्षीय पकंज मैनाली, ३३ वर्षीय सरोज पौडेल, भद्रपुर नगरपालिका-१० बस्ने ४० वर्षीय शंकर चिमरिया, हल्दिवारी गाउँपालिका-४ बस्ने ३४ वर्षीय प्रदिप राई र हुम्ला नाम्खा गाउँपालिका-१ दिङगा बस्ने ३५ वर्षीय राजु लामा रहेका छन् ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेकोहो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया