राष्ट्रपति भन्छन्- समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा

नेपालखोज २०८२ साउन २७ गते १८:५८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा आइसकेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ का अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समृद्ध नेपाल बनाउने युगिन जिम्मेवारी पूरा गर्न युवाहरू सक्षम भइसकेका भन्ने आफूलाई विश्वास लागेको बताए ।

राष्ट्रपति पौडेलले आफू र आफ्नो पुस्ताको युवावय मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थासम्म ल्याउनमा समर्पित रहेको उल्लेख गर्दै आफूहरू क्रान्ति र परिवर्तनको एउटा कालखण्ड गुज्रेर सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्थापना गर्न सफल भएको बताए ।

राष्ट्रपति पौडेलले प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन एवं सूचना प्रविधिसहित उद्यमशीलताका विभिन्न क्षेत्रमा नेपाली युवाहरूले आफूलाई अब्बल प्रमाणित गरिसकेको उल्लेख गरे । उनले भने, ‘यो सामथ्र्य र शक्तिलाई दिगो विकासको अवधारणाअनुरुप देश नवनिर्माणको उज्यालो भविष्यतर्फ उन्मुख गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्दछ ।’

राष्ट्रपति पौडेलले प्रविधिसँग अभ्यस्त नेपाली युवालाई स्वदेशमा नै अवसर दिलाउन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण, नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताउँदै यसलाई उपलब्धिमूलक बनाउन देश परिवर्तनका संवाहक युवाको साथ, सहभागिता र जागरुकता आवश्यक रहेको स्पष्ट पारे ।

‘उद्यमशिलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने समयको माग भइसकेको छ । विश्वव्यापीकरण र सूचना प्रविधिको तीव्रतर विकासको आधुनिक युगमा युवापुस्ताले चाहेको विकास, सुशासन र समृद्धिको सपनालाई पूरा गर्नु नै आजको मुख्य कार्यभार हो’, उनले भने, ‘उद्यमशीलता आर्थिक विकासको आधार हो । त्यसैले युवाको विदेश पलायन रोकेर उनीहरूलाई रोजगारीतर्फ आकर्षित गर्न उद्यमशीलता विस्तार एवं प्रवर्द्धनका नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक छ ।’

राष्ट्रपति पौडेलले अन्तरराष्ट्रिय युवा दिवस युवा सहभागिता र सशक्तीकरणका लागि साझा उत्सव र ऐक्यबद्धताको आधार भएको भन्दै यसले स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्मको युवा सहभागितामार्फत दिगो विकास, एकता र ऐक्यबद्धतालाई जोड दिएको महसुस भएको बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधिको उपस्थिति रहेको थियो । -रासस

प्रतिक्रिया