आइतबार, मंसिर २१, २०८२

“थुनुवाको सम्झना : साँगुरो कोठामा बिताएका ती दिन”

जय प्रकाश आनन्द  २०८२ साउन २८ गते ११:४२

चर्चित व्यक्तिको जेल बसाइका कुराहरू फेरी सबै तिर चर्चामा छ। मलाई पनि आज सम्झना भइरहेको छ मेरा त्यस दिनको। धेरै वर्ष भयो, त्यस दिन थुनाको दिक्दारले मेरो इच्छा थियो कि बरु मलाई जेलमा सारियोस् । तर, हामी अख्तियारको थुनुवा भएकाले यो सम्भव नभएको खुमबहादुर जीको तर्क थियो । अब के गर्ने यस साँगुरो थुनामा ? कसरी बस्ने ? मलाई पनि लागेको थियो- मेरा स्मृतिमा भएका केही समसामयिक विषयहरूलाई लिपिबद्ध गरूँ । साथै केही राम्रा पुस्तकहरूसमेत पढ्न चाहेको थिए। यद्यपि यसको सम्भावना क्षीण थियो। त्यस बेलाको परिस्थिति आजको जस्तो थिएन ।

बडो कठिन तथा अनिश्चयको थियो। त्यस दिनलाई म आजको वर्तमान ठान्दछु अनि अहिले नै घटित भइरहेको सरह यसरी ती सम्झनाहरू लेख्दछु : 

राजाले असोज १८ गते शासन सत्ता आफ्नो हातमा लिएपछि  लोकेन्द्रबहादुर चन्दको सरकारलाई मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, स्थानीय निकायको निर्वाचन सम्पन्न गराउने, प्रतिनिधिसभाको निर्वाचन गराउने, सबै तहबाट भ्रष्टाचार हटाउनेजस्ता जिम्मेवारीहरू दिएका छन् । यो नेपाली जनताले तत्कालै ठम्याउन नसक्ने राजाको ठुलो पाखण्ड हो । मेरो बयानको क्रममा अख्तियारका प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले आफ्नो सेखी देखाउँदै मलाई भनेका थिए “मुलुकमा राजनीतिक दलहरूको राज्य चलाउने बारे कुनै एजेन्डा भएन । त्यसैले राजाद्वारा केही निश्चित एजेन्डाहरू निर्धारण गरेर राज्यको कार्यकारिणी अधिकार लिइएको हो । यिनैमध्ये भ्रष्टाचार हटाउने राजाको एउटा मुख्य एजेन्डा हो । तसर्थ राजाको सदाशयतालाई साकार पार्न कारबाही गरेरै छोड्छौँ।” सूर्यनाथका सबै कुराहरू सुन्न विवश रहेको मेरा सामुन्ने उनी बडो सहजताका साथ रत्ती पनि आफ्नो दम्भलाई नलुकाएर बोल्ने गर्छन् । म पनि बडो रमाइलो मानेर सुनिरहेको हुन्थे। सायद केही अघिसम्म राजनीतिक मानिसहरूका अगाडि नतमस्तक रहिआएका सूर्यनाथ आज सजिलै राजनीतिक मानिसहरूलाई स्वेच्छाको भरमा थुन्न सक्ने अवस्थामा पुग्दा देखाउने व्यवहारलाई बित्तामा के को अहङ्कार भन्नु ! मैले सामान्य रूपमा नै लिएको छु ।अब राजाको इच्छाको औचित्य प्रमाणित नहुञ्जेलसम्म हामी थुनाबाट छुट्ने छैनौँ भन्ने मेरो विश्वास भएकै कारणबाट थुनाका दिनहरूलाई उपयोगी बनाउनका लागि म लेख्न र पढ्ने कार्यमा केही हदसम्म आफूलाई व्यस्त राख्न चाहेको हुँ । यता यस्ता अनेक कुराहरूको मनमा सम्झना आउन सुरु भएको छ। 

त्यस राति यसरी दिनहरू बिताउने सोच्दै थिए, तर अनायास अर्को एक ठुलो व्यवधान बेहोर्नु  पर्‍यो । अचानक नगर प्रहरीका एक जना निरीक्षक आएर हामीलाई त्यहाँबाट थुना सारेर अन्यत्र कहीँ लाने सूचना दिए । हाम्रो खाना आएको थिएन । आजको खाना कहाँबाट आउने हो थाहा पनि   थिएन । तर, हामीले त्यहाँबाट बिदा लिनुपर्ने  भयो । एक दुई दिनको परिश्रमले मिलाएको ओछ्यान, कोठामा पहिलेदेखि रहेको मधुरो विद्युत् क्षमताको चिमको सट्टा भर्खरै फेरेको अर्को पढ्न भ्याउने खालको चिम, सफा गरिएको चर्पी, बडो जतनका साथ बिजुलीबाट चिया पकाउन गरिएको उद्यम सबैसँग बिछोड हुने भएकाले एक्कासि विरक्त भाव जागेर आयो । यस गृहस्थीलाई छोडेर जानुपर्दाको पीडा र जानुपर्ने अज्ञात ठाउँमा अझ भोग्नुपर्ने कठिनाइको आभास भएर दिक्क मान्दै थिए कि प्रहरीले बेर नगरी जान आग्रह गरे । एक प्रकारले बल नै गरे । वास्तवमा हामी अन्त जान चाहेका थिएनौँ । सके भनसुन लाग्छ कि भने प्रयासमा थियौँ । तर, भर्खरै निवर्तमान भएका गृहमन्त्री खुमबहादुर र मेरा सामुन्ने भने कुनै अर्को विकल्प रहेन । अख्तियारले हामीलाई यहाँ थुनामा पटाउँदाका बखत यहीँ बस्नुपर्ने, पत्रपत्रिका, रेडियो र फोनको सुविधा हुने आश्वासन दिएको थियो । अझ प्रमुख आयुक्त सूर्यनाथले त आयोगमै मसँग खोसिएको मेरो मोबाइल फोन तुरुन्त फिर्ता दिन लगाएका थिए तर थुनामा पुग्न साथ फेरि ती सबै सुविधा हरण गरिएको  थियो । यस कुरालाई सम्झँदै यहाँभन्दा पनि कठिन ठाउमा सार्ने नै सरकारको नियत रहेको अनुमान भयो । 

हाम्रो सरकारी व्यवहारमा प्रायः यस्ता कुराहरूको आदेश अज्ञात माथिबाट नै आउने गरेको हुनाले यसका कारणहरूका बारेमा साना पदका कर्मचारीहरूलाई केही थाहा हुदैन । त्यसैले हाम्रो थुना सार्ने कारणका सम्बन्धमा मैले थप केही बुझ्ने प्रयास गरिन । यद्यपि, एकै पटक असङ्ख्य दुखः द् सम्भावनाहरूको झझल्को र पूर्वानुभूतिबाट मनमस्तिष्कलाई भने जोगाउन सकिएन । सिंहदरबार थुनामा हाम्रो सानो गृहस्थी लगभग १ महिना (२५ दिन) बस्नुपर्ने सोचका साथ निर्माण हुन  लागेको थियो । 

यहाँ खुमबहादुर जी र म लगभग १५×१२ फिटको एउटा कोठा जसलाई प्रहरीहरूले आफूहरू बस्ने काममा प्रयोग गर्दथे, त्यसैमा बसेका थियौँ । माटोको सतहभित्र बनेको यस कोठामा दिनमा दुई वटा झ्यालबाट गरी एक डेढ घण्टा जति झारपातबाट छानिएको घाम आउने गरेको थियो । यस कोठाको दक्षिण तिरको एउटा आधिमात्र खुल्ने झ्यालबाट बिहानी पख सडक पेटीमा फलफूल र तरकारी किन्नेहरूको घुइँचोको अल्प गतिविधि मात्र देखिँदा, समाजको गतिविधिका सबै पक्षबाट हामी वञ्चित छौँ भन्ने बुझ्न सकिन्थ्यो र थुनाको आभास पाइन्थ्यो । त्यस कोठाको ढोका बाहिर लगभगसँगै सानो चर्पी थियो । जहाँ नुहाउन र मुख धुन सम्भव थिएन । त्यसका लागि हामी माथिल्लो तलास्थित प्रहरी जवानहरूले प्रयोग गर्ने सामूहिक चर्पीलाई प्रयोग गर्न अभ्यस्त हुन खोज्दै थियौँ । आउने एक दुई दिनमै लक्ष्मी पूजाको कारणबाट ३/४ दिन सार्वजनिक बिदा हुनेभएकोले त्यस बेला अन्य कुराहरू मिलाउने सोचेका।  थियौँ । एक दुई वटा कपडा झुन्ड्याउने ह्याङ्गरको व्यवस्था भइसकेको थियो । मिनिरल वाटरको वोटललाई बिचबाट आधी काटेर स्ट्रे बनाइसकेका थियौँ । झ्यालमा प्रायः प्रहरीले प्रयोग गर्ने नीलो रङ्गको पर्दा लगाएर कोठाको गोपनीयतामा ड्युटीवाल प्रहरी जवानहरूले गर्ने गरेको दृष्टि आक्रमणबाट अब रक्षा हुने कुरामा आश्वस्त भइसकेका थियौँ । सीमित रूपमै भए पनि बिहान सबेरै नेपाली पत्रपत्रिका आइपुग्ने नियमित व्यवस्थाजस्ता कुराहरू हाम्रो कारा गृहस्थीको पक्ष भइसकेको थियो । भर्खर-भर्खर मिलाइएको यस्तो परिस्थितिमा हामीलाई एक्कासि बिना कारण त्यसमा पनि रातिको समयमा थुना सार्ने भनी आएको यो आदेश वास्तवमा हुन्डरी बतासमा परेको चराको गुड झैँ भएको थियो । तर, यो परिस्थिति तत्काल हाम्रालागि छलफलको विषय हुन सक्दैनथ्यो । अचानक बदलिएको अवस्थामा झिटी गुन्टा बाँध्नु र घरमा यस अनपेक्षित बसाइ-सराइको खबर गर्नु नै तत्कालको मुख्य विषय  थियो । यस्तो अवस्थामा अनामनगर थुनाका इन्चार्जलाई कृपापूर्वक घरमा खबर गरिदिने अनुरोधका साथ हामी अर्को यात्रामा लाग्यौँ । हाम्रो सानो यात्राको अन्त्य केही बेरपछि नै महाराजगन्जस्थित सशस्त्र प्रहरी गण नं. २ मा भयो । 

महाराजगन्जस्थित वीरेन्द्र प्रहरी अस्पतालको पछाडि भागमा रहेको सशस्त्र प्रहरी बलको २ नं. गण हाम्रा लागि नयाँ   थियो । गृहमन्त्रीका रूपमा स्वयं खुमबहादुर पनि यहाँ कुनै पनि औपचारिक कार्यवश आउनुभएको थिएन । यहाँ हाम्रो बस्ने व्यवस्था कार्यालय भवन कै पहिलो तलाको एउटा कोठामा गरिएको छ । केही बेरमै हामीले थाहा पायौँ, आजै बिहान हामीलाई यहाँ ल्याउने जानकारी आएपछि यस कोठालाई सकभर प्लास्टिकको टाट ओछ्याएर, एउटा काठे कुर्सी, दुई वटा खाटहरू र सरसफाइ गरेर अपेक्षाकृत सुविधाजन्य बनाइएको रहेछ । यहाँ आइसकेपछि केही अघिका मेरा धारणा तथा आशङ्काहरू परिवर्तन भए । तर, अब हामी थप लामो समयसम्म थुनामै बस्नुपर्ने कुरा निश्चित जस्तै देखियो । 

सिंहदरबार थुनाको तुलनामा यो स्थान अपेक्षाकृत सुविधाजन्य नै हो। पहिलो पटक झट्ट  प्रवेश गर्दा काठमाडौँमा डेरा गरी बस्ने सानो तहको कर्मचारीको वेडरूम कम बैठक कम भान्साजस्तो देखिने यस कोठामा हाम्रालागि सबैभन्दा सुविधाजन्य पक्ष सानो तर टाँसिएकै बाथरुम हो । यसअघि अफिसको रूपमा रहेको यस कोठालाई बन्दिगृहमा रूपान्तरित गर्न खास प्रकारका प्रयासहरू गरिएका छन्। सायद यस्का केही भिन्नै तौर तरिकाहरू हुन्छन् । कोठाका झ्यालहरूमा रहेका भेन्टिलेसनका खापाहरूमा ग्रिल नभएकाले क्रूरतापूर्वक किला ठोकेर त्यसलाई बन्द गरिएको छ । बाथरुमको भित्री भागबाट ढोका बन्द गर्न लगाइको छेस्किनीलाई उखेलिएको  छ । मूल ढोकाको छेस्किनीलाई पनि बल पूर्वक उखेलिएको छ । छतमा बिजुली पङ्खा झुन्ड्याउन लगाइएको अङ्ग्रेजीको यु आकारको हुकलाई हथौडाले हिर्काएर छत तिरै मोडिएको छ । निराशाले विक्षिप्त भएर हामी झुन्डिएर आत्महत्या गर्न नसकौँ भनेर यसो गरिएको होला । राम्रो कोठालाई यसरी दुःख पूर्वक थुनुवा कोठामा रूपान्तरित गरिएको प्रस्टै देखिन्छ । 

यसका अतिरिक्त हाम्रो विशेष निगरानीकारलागि छुट्टै प्रहरीहरूको व्यवस्था गरिएको छ । हालै भर्ना भएका केही युवा र अनुभवी अधिकृतहरूलाई समेत खटाइएको छ ।  हाम्रो तत्कालका व्यवस्थाका लागि यस गणका गणपति एस.पी. र अन्य अफिसरहरू आएका थिए । वास्तवमा हामीप्रति उनीहरूको चासो प्रशंसनीय।  छ । बास व्यवस्था आदिका सुविधा सम्बन्धमा उनीहरू बडो फरासिलो देखिए तर भरे-भोलि बिस्तारै सोध्नुपर्ने एउटा कुरा मैले पहिलो भेटमै सोधेर आफूलाई दुःखित तुल्याइसकेको छु । मैले सोधेको थिए हामीलाई भेटघाट गर्न दिनेबारे के नीति   छ ? उनीहरूले रत्ती पनि अप्ठ्यारो नमानी भने माथिको आदेशबिना यो सम्भव छैन भने।भोली पल्ट देखि यही अवस्थामा हाम्रो जीवन सुरु भयो। हामी यस अवस्थाका लागि अभ्यस्त हुनुको विकल्प देखेनौँ। न त भेटघाट, न यस अवस्थाका बारेमा कुनै निकायको ध्यानाकर्षण गराउने सुविधा। दिनहरू बिते कयौँ महिनासम्म ! हर दिनका ती अनुभवहरू आज पनि याद आई रहेको छ ।

भर्खर-भर्खर मिलाइएको यस्तो परिस्थितिमा हामीलाई एक्कासि बिना कारण त्यसमा पनि रातिको समयमा थुना सार्ने भनी आएको यो आदेश वास्तवमा हुन्डरी वतासमा परेको चराको गुड झैँ भएको थियो । तर, यो परिस्थिति तत्काल हाम्रालागि छलफलको विषय हुन सक्दैनथ्यो । अचानक बदलिएको अवस्थामा झिटी गुन्टा बाँध्नु र घरमा यस अनपेक्षित बसाइ-सराइको खबर गर्नु नै तत्कालको मुख्य विषय  थियो । यस्तो अवस्थामा अनामनगर थुनाका इन्चार्जलाई कृपापूर्वक घरमा खबर गरिदिने अनुरोधका साथ हामी अर्को यात्रामा लाग्यौँ । हाम्रो सानो यात्राको अन्त्य केही बेरपछि नै महाराजगन्जस्थित सशस्त्र प्रहरी गण नं. २ मा भयो । 

महाराजगन्जस्थित वीरेन्द्र प्रहरी अस्पतालको पछाडि भागमा रहेको सशस्त्र प्रहरी बलको २ नं. गण हाम्रा लागि नयाँ   थियो । गृहमन्त्रीका रूपमा स्वयं खुमबहादुर पनि यहाँ कुनै पनि औपचारिक कार्यवश आउनुभएको थिएन । यहाँ हाम्रो बस्ने व्यवस्था कार्यालय भवन कै पहिलो तलाको एउटा कोठामा गरिएको छ । केही बेरमै हामीले थाहा पायौँ, आजै बिहान हामीलाई यहाँ ल्याउने जानकारी आएपछि यस कोठालाई सकभर प्लास्टिकको टाट ओछ्याएर, एउटा काठे कुर्सी, दुई वटा खाटहरू र सरसफाइ गरेर अपेक्षाकृत सुविधाजन्य बनाइएको रहेछ । यहाँ आइसकेपछि केही अघिका मेरा धारणा तथा आशङ्काहरू परिवर्तन भए । तर, अब हामी थप लामो समयसम्म थुनामै बस्नुपर्ने कुरा निश्चित जस्तै देखियो । 

सिंहदरबार थुनाको तुलनामा यो स्थान अपेक्षाकृत सुविधाजन्य नै हो। पहिलो पटक झट्ट  प्रवेश गर्दा काठमाडौँमा डेरा गरी बस्ने सानो तहको कर्मचारीको वेडरूम कम बैठक कम भान्साजस्तो देखिने यस कोठामा हाम्रालागि सबैभन्दा सुविधाजन्य पक्ष सानो तर टाँसिएकै बाथरुम हो । यसअघि अफिसको रूपमा रहेको यस कोठालाई बन्दिगृहमा रूपान्तरित गर्न खास प्रकारका प्रयासहरू गरिएका छन्। सायद यस्का केही भिन्नै तौर तरिकाहरू हुन्छन् । कोठाका झ्यालहरूमा रहेका भेन्टिलेसनका खापाहरूमा ग्रिल नभएकाले क्रूरतापूर्वक किला ठोकेर त्यसलाई बन्द गरिएको छ । बाथरुमको भित्री भागबाट ढोका बन्द गर्न लगाइको छेस्किनीलाई उखेलिएको  छ । मूल ढोकाको छेस्किनीलाई पनि बल पूर्वक उखेलिएको छ । छतमा बिजुली पङ्खा झुन्ड्याउन लगाइएको अङ्ग्रेजीको यु आकारको हुकलाई हथौडाले हिर्काएर छत तिरै मोडिएको छ । निराशाले विक्षिप्त भएर हामी झुन्डिएर आत्महत्या गर्न नसकौँ भनेर यसो गरिएको होला । राम्रो कोठालाई यसरी दुःख पूर्वक थुनुवा कोठामा रूपान्तरित गरिएको प्रस्टै देखिन्छ । 

यसका अतिरिक्त हाम्रो विशेष निगरानीकारलागि छुट्टै प्रहरीहरूको व्यवस्था गरिएको छ । हालै भर्ना भएका केही युवा र अनुभवी अधिकृतहरूलाई समेत खटाइएको छ ।  हाम्रो तत्कालका व्यवस्थाका लागि यस गणका गणपति एस.पी. र अन्य अफिसरहरू आएका थिए । वास्तवमा हामीप्रति उनीहरूको चासो प्रशंसनीय।  छ । बास व्यवस्था आदिका सुविधा सम्बन्धमा उनीहरू बडो फरासिलो देखिए तर भरे-भोलि बिस्तारै सोध्नुपर्ने एउटा कुरा मैले पहिलो भेटमै सोधेर आफूलाई दुःखित तुल्याइसकेको छु । मैले सोधेको थिए हामीलाई भेटघाट गर्न दिनेबारे के नीति   छ ? उनीहरूले रत्ती पनि अप्ठ्यारो नमानी भने माथिको आदेशबिना यो सम्भव छैन भने।भोली पल्ट देखि यही अवस्थामा हाम्रो जीवन सुरु भयो। हामी यस अवस्थाका लागि अभ्यस्त हुनुको विकल्प देखेनौँ। न त भेटघाट, न यस अवस्थाका बारेमा कुनै निकायको ध्यानाकर्षण गराउने सुविधा। दिनहरू बिते कयौँ महिनासम्म हर दिनका ती अनुभवहरू आज पनि याद आई रहेको छ ।

प्रतिक्रिया