तीस हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

काठमाडाैं । पाकिस्तानको क्वेटामा अवैध रूपमा बसोबास गर्दै आएका ३० हजारभन्दा बढी अफगान नागरिकहरूलाई एक महिनाभन्दा कम समयमा अफगानिस्तान फिर्ता पठाइएको पाकिस्तानी पत्रिका डनले जनाएको छ ।
यसअघि पाकिस्तान सरकारले पाकिस्तानमा बसोबास गर्ने अवैध अफगानहरूलाई स्वदेश फर्कन जुलाई ३१ को समयसीमा तय गरेको थियो । कागजात विहीन अफगानविरुद्ध कारबाही गर्न प्रहरी, एफआईए र जिल्ला प्रशासन मिलेर संयुक्त टोली गठन गरिएको डनले जनाएको छ ।
मङ्गलबार क्वेटा डिभिजनका आयुक्त शाहजेब खान काकरको अध्यक्षतामा बसेको बैठकमा प्रान्तमा रहेका अवैध अफगानहरूमाथि चलिरहेको दमनको समीक्षा गरिएको थियो ।
अधिकारीहरूले अवैध अफगानहरू विरुद्धको कारबाहीलाई गति दिन एजेन्सीहरूबिच समन्वय गरिएको जानकारी दिएका छन् । आयुक्तले कागजातविहीन अफगानहरूलाई लक्षित कारबाही सञ्चालन गरी अवैध बासिन्दाहरूको बैङ्क खाता र मोबाइल सिमहरूको रेकर्ड सङ्कलन गर्न निर्देशन दिएका थिए ।
उहाँले अपरेशनको क्रममा महिला र बालबालिकाको सम्बन्धमा विशेष ध्यान राख्न निर्देशन दिदै सबै विभागहरूलाई अफगानिस्तानमा सबै अवैध अफगानहरूको फिर्तीका लागि प्रभावकारी रणनीति बनाउन आग्रह गरे ।
पाकिस्तानी सेनाले क्वेटा डिभिजनमा अवैध अफगानहरू विरुद्धको कारबाहीमा बलुच लिबरेशन आर्मी र तेहरीक-ए-तालिबान पाकिस्तानका सदस्यसहित ५० जना आतङ्ककारीहरूलाई मारेको दाबी गरेको छ ।

प्रतिक्रिया