इराक र सिरियाबीच ऊर्जा क्षेत्रको सहकार्यमा छलफल

नेपालखोज २०८२ साउन २८ गते २०:०७

बग्दाद । इराकका तेलमन्त्री हायान अब्दुल घानी र बग्दाद भ्रमणमा रहेका सिरियाली ऊर्जा मन्त्री मोहम्मद अल–बशीरबीच मङ्गलबार एक महत्वपूर्ण भेटवार्ता सम्पन्न भएको छ । भेटमा दुबै पक्षले तेल, ग्यास तथा ऊर्जा क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा गहन छलफल गरेका छन् ।

इराकको तेल मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्री घानीले इराक र सिरियाबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै यसलाई अझ सुदृढ बनाएर दुई देशको साझा हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

छलफलका क्रममा किरकुक–बनियास पाइपलाइनको वर्तमान अवस्था र त्यसको प्रयोगमार्फत पुनः कच्चा तेल निकासी गर्ने सम्भावनाबारे विचार–विमर्श भएको थियो । दुबै देशले पाइपलाइनको प्राविधिक अवस्था मूल्याङ्कन गर्न एक संयुक्त समिति गठन गर्ने सहमति जनाएका छन् । साथै, एक अन्तर्राष्ट्रिय प्राविधिक सल्लाहकारको सहायतामा पाइपलाइनको सञ्चालन क्षमता, पम्पिङ प्रणाली तथा पुनःनिर्माणको व्यवहारिकता सम्बन्धी अध्ययन गरिने प्रस्ताव पनि राखिएको छ ।

सिरियाली मन्त्री अल–बशीरले सिरियाको हालको तेल उद्योगको अवस्था प्रस्तुत गर्दै पाइपलाइनको अवस्था सुधार गर्न छिटो पहल आवश्यक रहेको उल्लेख गरे । उनले विगतमा तोडफोड र जीर्ण अवस्थाले प्रभावित बनेको किरकुक–बनियास पाइपलाइनको शीघ्र पुनः सञ्चालन दुबै देशका लागि लाभदायक हुने धारणा व्यक्त गरे ।

इराकको उत्तरी सहर किरकुक र सिरियाको तटीय क्षेत्र बनियासलाई जोड्ने यो पाइपलाइन सन् १९५२ मा सञ्चालनमा आएको थियो । सन् २००३ मा इराकमा भएको युद्धका क्रममा गम्भीर क्षति पुगेपछि यो पाइपलाइन हालसम्म प्रयोगबाहिर रहेको छ ।

प्रतिक्रिया