आगलागीपीडित तामाङ दम्पतीलाई घर बनाइदिन सात लाख ७५ हजार सहयोग सङ्कलन

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका आगलागीपीडित वृद्धावस्थाका तामाङ दम्पतीका लागि घर निर्माण गर्न आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
यही साउन १८ गते बेलुका अँगेनाबाट सल्किएको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएर विचल्लीमा पर्नुभएका ७० वर्षीय जितबहादुर र ७१ वर्षीया सुकुमाया स्याङ्तान तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न सात लाख ७५ हजार ५७७ आर्थिक सहयोग उपलब्ध गराइएको हो ।
वर्षात्को पानीले भिजेको डोको अँगेनामा सुकाउने क्रममा डोकोबाट सल्किएको आगोले तामाङ दम्पतीको फुसको छाना भएको दुईतले घर तथा घरमा भएका सामग्री पूर्ण रूपमा जलेर नष्ट हुँदा रु १३ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि विचल्लीमा पर्नुभएका तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न साउन १९ गते बसेको स्थानीयवासीको भेलाले नुनथलाका निर्वाचित वडा सदस्य तारादेवी तामाङको संयोजकत्वमा आर्थिक सहयोग सङ्कलन समिति गठन गरिएको थियो ।
आर्थिक सहयोग सङ्कलन समितिको संयोजनमा स्थानीयवासीबाट सङ्कलन भएको रु दुई लाख २८ हजार ८३५, नुनथलाका स्थानीयवासी एवं सामाजिक अभियन्ता सुन्दर तामाङको बैंक खातामा जम्मा भएको पाँच लाख ४१ हजार ७४२ तथा पत्रकार सूर्य तामाङले प्रदान गरेको पाँच हजार सहयोग रकम आज आगलागीपीडित तामाङ दम्पतीलाई हस्तान्तरण गरिएको छ ।
अभियानमा सङ्कलित रकम नुनथलाका वडाध्यक्ष भगेश्वर राई र सामाजिक अभियन्ता तामाङले आगलागीपीडित तामाङ दम्पतीको घरैमा लगेर संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।
आर्थिक सहयोग रकम हस्तान्तरण कार्यक्रममा आर्थिक सङ्कलन अभियानमा सहभागी दाताहरूको नामावलीसमेत सार्वजनिक गरिएको थियो । आर्थिक सङ्कलन अभियानमा नुनथलामा जन्मिएर रोजगारी तथा अध्ययनको सिलसिलामा विभिन्न देशमा रहेकाले सबैभन्दा बढी सहयोग उपलब्ध गराएको जनाइएको छ ।
आगलागीपीडित तामाङ दम्पतीका लागि नयाँ घर निर्माण गर्न अझै पनि सहयोग रकम जम्मा हुनेक्रम जारी रहेको सामाजिक अभियन्ता तामाङले बताए ।

प्रतिक्रिया