इन्टरनेट अभावले सामाजिक सुरक्षाका लाभग्राहीको ‘बायोमेट्रिक’मा समस्या

नेपालखोज २०८२ साउन २९ गते १२:३१

दार्चुला । शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षाका लाभग्राहीको नवीकरणमा समस्या भएको छ । सरकारले ज्येष्ठ नागरिकलगायत लाभग्राहीको बायोमेट्रिक प्रमाणीकरण गरेर मात्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेपछि वडाहरुमा नविकरण गर्न समस्या भएको हो ।

वडा नं. १ का सचिव शेरसिंह खडायतका अनुसार इन्टरनेट विना बायोमेट्रिक सम्भव छैन । एकातिर दोहोरो वडाको जिम्मेवारी छ । अर्कोतिर इन्टरनेट छैन् । सेवाग्राहीले हामीलाई सेवा नदिएको गुनासो मात्रै गर्छन् । समस्याबारे स्थानीय सरकारले समयमै चासो नलिएको खडायतको गुनासो छ ।

सामाजिक सुरक्षा लाभग्राही दिनहुँ वडामा पुगेर फर्किन बाध्य भएको शैल्यशिखर वडा नम्बर ७ का वडा सचिव भुपेन्द्रप्रसाद जोशीले जानकारी दिए । वडामा राम्रो ल्यापटप कम्प्युटर छैन् । इन्टरनेट छैन् । सेवाग्राहीको मात्रै दिनहुँ भीड लाग्ने गरेको छ ।

मोबाइल नेटवर्कको स्थिति पनि दयनीय छ । ‘नेटवर्कका लागि कार्यालय बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपर्छ, तर दुईवटा मोबाइल खस्दा बिग्रिसके’, जोशीको गुनासो छ । उनका अनुसार कम्प्युटर, ल्यापटप र इन्टरनेट भएमात्र सेवा प्रभावकारी हुन्छ ।

वडा सचिव जोशीका अनुसार नगरपालिकाले वडासम्म इन्टरनेट पहुँच पुर्याउन सकेको छैन । वडा नम्बर ४, ५, ७ र ८ मा डाटासमेत राम्रो सँग चल्दैन् । यहाँका नौ वडामध्ये अन्य वडामा समेत डाटाले राम्रोसँग कामगरिरहेको छैन । वडा कार्यालयभित्र मोबाइल नेटवर्कसमेत आउँदैन ।

नेटवर्कका लागि कार्यालयको बाहिर मोबाइल झुण्ड्याएर काम गर्नुपरेको जोशीको गुनासो छ ।

वडा नं २ का सचिव मनोरथप्रसाद भट्टले पनि इन्टरनेट नचल्दा सेवाग्राहीलाई समयमै सेवा दिन नसकिएको बताए । ‘बुढा आमाबुबालाई बोकेर कार्यालय ल्याउँदा पनि सेवा नदिएर फर्काउनुपर्ने अवस्था छ’, उनले भने’, ‘काम गरौंभन्दा पनि इन्टरनेटले काम नगर्दा हामीले समस्या भोग्नुपरेको छ ।’

नगरपालिकाका एमआइएस अपरेटर राजमती खडायतका अनुसार वडा नं ४, ५, ७ र ८ मामोबाइल डाटा नै चल्दैन । यहाँका अन्य वडामा भने थोरै मात्र काम हुने अवस्था छ । हाम्रा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने अवस्था आउने उनको भनाइ छ ।

नगरपालिकाका सूचना अधिकारी भोजराज भट्ट वडासचिवले इन्टरनेटको समस्याबारे पटकपटक कुरा उठाएको बताउछन् ।

नगर प्रमुख विजयसिंह धामीले नेपाल टेलिकमसँग इन्टरनेटको समस्या समाधानका लागि आग्रह गरे पनि समाधान नभएको बताए । अझै पनि वडामा इन्टरनेटको विकल्प खोजी भइरहेको छ ।

प्रतिक्रिया