सोमबार, पुष ७, २०८२

महिला लिग छनोट : पहिलो खेलमा छहारी क्लब विजयी

नेपालखोज २०८२ साउन २९ गते १८:३२

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको एन्फा महिला लिग छनोटको उद्घाटन खेलमा छहारी युवा क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा छहारी क्लबले एफसी रियल क्लबमाथि ३–० को जित दर्ता गराएको हो ।

भारी वर्षाबीच सम्पन्न समूह ‘ए’को खेलमा छहारीले पहिलो हाफमा दुई गोल ग-यो भने दोस्रो हाफमा एक गोल थप्यो । वर्षाले प्रभावित भई खेल करिब ३० मिनेट रोकिएको थियो ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा मुख्य रेफ्री अञ्जना राईले खेल रोकेका थिए । जितसँगै छहारीले तीन अङ्क बटुलेको छ । विभिन्न १४ टोली सहभागी उक्त छनोट प्रतियोगितामा उत्कृष्ट पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछ ।

सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन् ।

त्यसैगरी समूह ‘बी’मा एनआरटी, सङ्कटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा गल्र्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन् । -रासस

प्रतिक्रिया