‘कार्यप्रगति देखिनेगरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्यप्रगति देखिनेगरी ठूला विद्युत् र सिँचाइका ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
ऊर्जा मन्त्रालयमा आज सम्पन्न वार्षिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले बलियो सरकार भएका बेलामा कार्यप्रगति देखिनेगरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्ने बताए ।
‘विगतको सिकाइलाई आधार मानेर जिम्मेवारीका साथ काम ग¥यौँ भने प्रगति हासिल गर्न सकिन्छ, यसको बाटोमा सबै लाग्नुपर्छ,’ मन्त्री खड्काले भने ।
उनले मुलुकको अर्थतन्त्रको प्रमुख आधार ऊर्जा यस मन्त्रालयसँग जोडिएकाले अन्तरनिकायसँगको समन्वयमा यस क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिए ।
ऊर्जामन्त्री खड्काले बैँकमा थुप्रिएर बसेको पुँजीलाई ऊर्जा विकासको क्षेत्रमा लगाउनसके देश चाँडो विकास हुने विश्वास व्यक्त गरे । ‘एकातिर बैँकमा पैसा थुप्रिएर बसेको छ, अर्कोतर्फ विदेशीहरू लगानी गर्न आतुर छन्, तर हामीले किन यसलाई अगाडि बढाउन सकेनौँ,’ उनले भने ।
मन्त्री खड्काले हिँउदमा हुने विद्युत् अभावलाई परिपूर्ति गर्नका लागि सरकारले जलाशययुक्त आयोजनालाई विशेष प्राथमिकता दिएर अगाडि बढाउन खोजेको उल्लेख गरे ।
कार्यक्रममा विद्युत विकास विभागका महानिर्देशक जीवछ मण्डल, जलस्रोत तथा सिचाइ विभागका महानिर्देशक मित्र बराल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आयोजना निर्माणका क्रममा भोग्नुपरेका समस्याको बारेमा जानकारी गराएका थिए । -रासस

प्रतिक्रिया