डिप बोरिङमार्फत ३०० हेक्टरमा सिँचाइ, १३ आयोजना हस्तान्तरण

चितवन । भरतपुर महानगरमा निर्माण भएका १३ वटा भूमिगत जल सिँचाइ आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ । आज भरतपुर-२३ आलमघाटमा आयोजित एक कार्यक्रममा समितिलाई आयोजना हस्तान्तरण गरिएको हो । ती आयोजनामार्फत करिब तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको जनाइएको छ ।
वैकल्पिक सिँचाइ अभाव भएका क्षेत्रमा सेवा पुगोस् भन्ने उद्देश्यले आयोजना निर्माण गरिएको भूमिगत जल सिँचाइ आयोजना चितवनका कार्यालय प्रमुख विश्वबन्धु केसीले बताए । उनका अनसुसार हस्तान्तरण भएका आयोजना नर्मदेश्वर र मनकामना (भरतपुर-१५), रुखेनी (भरतपुर-१८), सङ्गम, सम्झौता र जुनतारा (भरतपुर-२१), पटिहानी पर्सा (भरतपुर-२२), ठाडोखोला, केरुङ, साँङ्गे र फाल्गुनी (भरतपुर-२३), भगौली (भरतपुर-२५) र झ्याउरेटाँडी (भरतपुर-२७) रहेका छन् ।
आयोजनामा करिब सात करोड ३२ लाख ७९ हजार ४४५ खर्च भएको छ । साथै कुल १९ हजार पाँच सय ३१ मिटर पाइपलाइन जडान गरिएको छ । यसले भरतपुरका खडेरीग्रस्त क्षेत्रमा डिप बोरिङमार्फत पानी आपूर्ति भई उत्पादनशील जमिन विस्तार गरेको छ ।
उपभोक्ता किसानले परियोजनाबाट खडेरी समयमा बाली लगाउन सहज भएको अनुभव बताएका छन् । पटिहानी पर्साका सेवाग्राही यमप्रसाद लामिछानेले आयोजना निर्माणले सिँचाइ समस्या समाधान भएको बताए । त्यस्तै, भरतपुर-१५ नर्मदेश्वर आयोजनाका मनिभद्र कँडेलले खडेरी जमिनमा पानी पुगेपछि किसान खुसी भएको उल्लेख गरे । फाल्गुनी र केरुङ्गा आयोजनाका सेवाग्राही अनिता वाइवा र कमलाकुमारी विश्वकर्माले भूमिगत जलस्रोतमार्फत अब खेतबारीमा सिँचाइको सुविधाले सहज भएको बताए ।
त्यस अवसरमा भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरका पश्चिमी क्षेत्रमा सिँचाइ अभावले जनिम बाँझो हुने समस्या समाधान भएको बताए । उनले नारायणी लिफ्ट, खगेरी सिँचाइलगायतसँगै डिप बोरिङले थप सहजता ल्याएको उल्लेख गर्दै किसानलाई आवश्यक सहयोगमा महानगर सदैव साथ रहने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया