प्रसूतिगृह लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर हो : स्वास्थ्यमन्त्री पौडेल

नेपालखोज २०८२ साउन ३१ गते १५:०४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले महिला स्वास्थ्यसम्बन्धी विशिष्टीकृत अस्पतालका रुपमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल लाखौँ आमा र शिशुको जीवन जोड्ने राष्ट्रिय धरोहर रहेको बताएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६६औँ वार्षिकोत्सवमा उनले प्रसूतिगृह नेपालको स्वास्थ्य क्षेत्रको विकासको साक्षी रहेको बताए ।

मन्त्री पौडेलले भविष्यमा यस अस्पतालमा११ शय्या थप गरेर ५०० शय्या बनाइने बताए । उनले काठमाडौंका दुई नगरपालिकामा २५/२५ शय्याको स्याटेलाइट प्रसूति अस्पताल निर्माणको सम्झौता गरेर उपत्यकाको बढ्दो चापलाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी गराए । उनले स्त्रीरोग, आमा तथा शिशु सुरक्षा कार्यक्रम स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिने पनि बताए ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले स्त्रीरोगसम्बन्धी दुरबिन प्रविधिबाट हुने शल्यक्रिया, गर्भवतीका लागि मानसिक स्वास्थ्य ओपिडी र फेटल तथा मेटर्नल इको सेवाले रिफरल दर घटाएको बताए ।

उनले गत आवमा आठ हजार ६९३ जना निःसन्तानसम्बन्धी सेवाग्राहीहरुले ओपिडीबाट सेवा लिएको बताए । कूल २९८ जना महिलाले आइयुआई सेवा र ४३ जना निःसन्तान सेवाग्राहीहरुले आइभीएफ सेवा लिएको जानकारी गराए ।

प्रतिक्रिया