थारू समुदायमा अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

कञ्चनपुर । यहाँका थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ । बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो ।
परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङको प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा भगवान् श्रीकृष्णसहित अन्य जीवनशैलीमा आधारित परम्परागत चित्र बनाउने प्रचलन रहेकामा उक्त प्रचलन हट्दै गएको स्थानीय कालुराम चौधरीले बताए ।
उनका अनुसार कुनै गाउँमा वरघरिया (गाउँको मुख्य व्यक्ति)को घरमै चित्र कोरेर सामूहिक रूपमा त्यहाँ जम्मा भएर भगवान् श्रीकृष्णको पूजाआजा गर्ने परम्परा थियो । केही गाउँमा घरघरमा वा टोलका कुनै एक घरमा चित्र बनाएर पूजा गर्ने चलन थियो ।
थारू समुदायका घरघरमा रहेका बैठक कोठामा अष्टिम्कीमा मानव जातीले जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलाप आकर्षक चित्रका माध्यमबाट देखाउने गरी कोर्ने परम्परा रहेको थारू सामाजिक अभियन्ता हबलदार चौधरीले जानकारी दिए ।
यी चित्रहरू अन्न राख्ने भाँडो र भित्तामा बनाउने गरिएको सामाजिक अभियन्ता चौधरीले जानकारी दिए । उनका अनुसार चित्र बनाउने व्यक्तिलाई बीच भागमा दुलही अन्माउँदा दुलहीलाई लैजाने डोलेसहित डोलीको चित्रका माध्यमले देखाउने गरिन्छ । हाल यस्ता चित्र बनाएर अष्टिम्की पर्व मनाउने चलन कम थारू गाउँमा जीवित रहेको अभियन्ता चौधरीले बताए ।
पहिले महिलाहरूले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने उल्लेख गर्दै उनले पछि पुरुषहरूले पनि चित्र बनाउन थाका स्मरण गरे । अहिले कला, संस्कृति पुस्तान्तरण नहुँदा बजारबाट पोष्टर ल्याएर घरका भित्तामा टाँस्ने र पूजा गर्ने चलन बढ्दै गएको उनको भनाइ छ ।
सृष्टिको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुहरू चित्रका माध्यमले व्यक्त गर्ने भएकाले थारू समुदायको लोक चित्रकलाको अत्यधिक महत्व रहेको उनले बताए । थारू संस्कृतिका जानकारका अनुसार यो समुदायमा पाँच हजार वर्षअघि देखि चित्र बनाउने कलाको सुरुआत भएको थियो ।
थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेँडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाइने जनाउँदै समाजसेवी चौधरीले चित्रमा लगाइने रङहरूको आ–आफ्नै महत्व र विशेषता रहेको बताए ।
उनका अनुसार काले रङ शून्यताको प्रतीक, रातो जीवनको उमङ्ग, हरियो धैर्यताको प्रतीक, पहेलो रङ बुद्धिमताको, खैयर शरीरको संवेगात्मक अवस्थाको र नीलो रङलाई परम्परा र मूल्यमान्यताको प्रतीकका रूपमा लिने गरिएको छ । अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्ने कार्य गरेपछि महिलाले निराहार व्रत बसी परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने परम्परा रहेको दानसिंह दहितले जानकारी दिए ।
अष्टिम्कीको रातभरि जाग्राम बसी घरका सबैले श्रीकृष्णको परम्परागत लोकभाखामा गीत गाउने र नाच्ने गर्दछन् । अष्टिम्कीको दोस्रो दिनको बिहानै पूजा गरी चालमसहितको दियो बनालेर नदी वा तलाउमा विर्सजन गरी स्नान गरेर परिवारका सबै सदस्य घर फर्कछन् । घरमा बनाइएका पकवानको केही भाग भगवान्लाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् । -रासस

प्रतिक्रिया