चाँदी आयातको लागि प्रतिपटक पाँच लाख अमेरिकी डलरको सटही सुविधा कार्यान्वयनमा

काठमाडौं । चाँदी आयातको लागि प्रतिपटक पाँच लाख अमेरिकी डलरको सटही सुविधा कार्यान्वयनमा आएको छ ।
राष्ट्र बैंकले आईतबार नेपाल राष्ट्र बैंकको बैंकिङ बिभाग लगायत सम्पुर्ण प्रादेशिक कार्यालयहरु, बिदेशी मुद्राको कारोबार गर्न अनुमती पाएका सबै बैंक तथा वित्तीय संस्थाहरु र बिदेशी मुद्राको कारोबार गर्न अनुमती पाएका सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । यो व्यवस्था कार्यान्वयनमा आउनुअघि भने यस्तो सटहीको सुविधा तीन लाख अमेरिकी डलर रहेको थियो ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र-२०८१ को एकीकृत इ. प्रा. परिपत्रः ४ २०८१ को दफा २(घ) लाई देहायबमोजिम संशोधन गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी यो परिपत्र जारी गरि कार्यान्वयनमा ल्याईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
संशोधित व्यवस्था अन्र्तगत चांदी आयातमा भुक्तानीको सीमा सम्वन्धमा भनिएको छ, सुनचादी व्यवसाय गर्ने उद्योगले चादीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चांदी आयात गर्दा प्रति पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ ।
तर चांदीको गरगहना÷कलात्मक वस्तु आदि निकासी गर्ने चांदी व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्य सम्मको चांदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नु पर्नेछ ।
सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चांदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चांदी व्यवसायीसँग लिनु पर्नेछ । यि शर्तहरु कार्यान्वयन गरेको खण्डमा सटही सुविधा प्रदान गर्न सकिने परिपत्रमा उल्लेख छ ।
संसोधित व्यवस्था कार्यान्वनमा आउनुअघि भने चाँदी आयातमा भुक्तानीको सीमा सम्वन्धी व्यवस्था अन्र्तगत सुनचादी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुंडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चांदी आयात गर्दा प्रति पटक अमेरिकी डलर तीन लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।
अन्य सुनचाँदी व्यवसायीले चांदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ तर, चाँदीको गरगहना/कलात्मक वस्तु आदि निकासी गर्ने व्यवसायीलाई भने निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्य सम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो ।
यसैगरी सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्ने, सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चांदी व्यवसायीसँग लिनु पर्ने आदि व्यवस्था रहेको थियो ।

प्रतिक्रिया