पाल्पाको रणउजीरेश्वरी भगवती जात्रा सुरु

सुनिल उलक २०८२ भदौ १ गते १६:४८

हुन त जात्रा परम्पराहरू धार्मिक नै हुने गर्दछ । तर यस किसिमका जात्राहरू सुरु हुनुका पछाडि विभिन्न उद्देश्य र कारणहरू हुने गर्दछ । पोखरामा निस्कने विभिन्न जात्राको उद्देश्य धार्मिक र सांस्कृतिकका साथ साथ व्यापार प्रवर्धन पनि थिए । तर पाल्पाको रणरजीरेश्वरी भगवतीको जात्रा भने राष्ट्रियताको भावना जोडिएको जात्रा हो । यो जात्रा जीत गढीमा भएको अङ्ग्रेजसँगको युद्धमा अङ्ग्रेजलाई हराउन सफल भएपछि खुसीयालीमा निकालिएको जात्रा हो । यस जात्राको सुरुवात गर्ने कर्णेल उजारसिंह थापाको नाममा यो जात्रा रणउजीरेश्वरी रहन गएको हो । रणको अर्थ युद्ध हो भने उजीर अङ्ग्रेजसँगको युद्धका वीर योद्धा थिए । देवीको जात्रा भएको हुँदा उजीरेश्वरी भनिएको हो ।

वि.सं. १८७१ कार्तिकमा भारतमा रहेको इष्ट इन्डिया कम्पनीको रूपमा रहेको अङ्ग्रेजको सरकारले नेपाल माथि पाँच ठाउँबाट आक्रमण गरेको थियो । नेपाल माथि विजय गरी आधापत्य जमाउने वा आफ्नो हितमा कार्य गर्न बाध्य बनाउने अग्रेजको दाउ थियो । जुन उद्देश्य पुरा गर्न अङ्ग्रेजले सतलज कब्जा गर्न अक्टरलोनीले, देहरादून कब्जा गर्न जिलेप्सीले, पाल्पा कब्जा गर्न जोन सलिभान उडले, काठमाडौं कब्जा गर्न वेनेट मार्ले तथा कोसी कब्जा गर्न वैरी ल्याटरको नेतृत्वमा अङ्ग्रेज सैनिकहरू खटिएका थिए ।

अङ्ग्रेजसँगको युद्धका इतिहास लेख्ने कतिपय नेपाली इतिहासकारहरूले अङ्ग्रेज लेखकहरूले लेखेका इतिहासका पुस्तकहरूको उद्धरण दिँदै आफ्नै राष्ट्रको विरुद्धमा इतिहास लेख्ने गरेको पाउँछौँ । यहाँ इतिहास खोजिँदैन, सारिन्छ । कुनै पनि इतिहासका पुस्तकका पुछारमा हेर्‍यौ भने विभिन्न पुस्तकबाट सारिएका उद्धरणहरू दिएको भेट्दछौ । कमैले राष्ट्रिय अभिलेखालयका पोका खोटलेर लेखेको भेटिन्छ ।

अङ्ग्रेजसँगको युद्धमा जीत गढीमा नेपालको विजय भएको तथ्य खासै लेखिएको भेटिँदैन । युद्धमा होमिएर नेपाललाई कर्णेल उजारसिंह थापाको चर्चा त्यति खास देखिँदैन ।

सेनहरूको राज्य रहेको पाल्पा एकीकरण पश्चात् गोर्खा राज्यमा समाहित भए पछि सो गौडामा खटिएका कर्णेल उजारसिंह थापा माथि अङ्ग्रेजको आक्रमणबाट महत्त्वपूर्ण बुटवल नाका जोगाउनु थियो । गोर्खालीको वीरता र युद्ध कौशलताको चर्चा अङ्ग्रेज अफिसरहरू बिच सधैँ हुने गर्दथ्यो । तसर्थ गोर्खालीहरूसँग युद्ध लड्नु सहज हुँदैन भन्ने थाहा थियो । यता गोर्खालीहरूमा पनि त्यो साख जोगाउनु निकै महत्त्वपूर्ण हुन्थ्यो । तसर्थ ज्यानको बाजी थापेर युद्धमा होमिन्थे, गोर्खाली ।

गोरखपुरबाट मेजर जनरल सलिभान उड बुटवल आक्रमण गर्न आउँदै गरेको जानकारी पाएका कर्णेल उजारसिंह थापाले युद्धभूमीमा जानु अगाडि सेन राजाले स्थापना गरेको भगवती माई दर्शन गरी भाकल गरे, युद्धमा विजयी भएर आएँ भने राम्रो मन्दिर बनाइ भगवतीको सहर परिक्रमा गरी जात्रा मनाउने छु ।

देवीको भाकलले ऊर्जा पाएका उजारसिंहको नेतृत्वको गोर्खाली सेनाले अङ्ग्रेजसँगको युद्धमा विजय हासिल गर्‍यो । पाँच ठाउँबाट नेपाललाई आक्रमण गरेको अङ्ग्रेजले चार ठाउँमा युद्धमा विजय गरे पनि पाल्पामा भने हार खानु परेको थियो । गोर्खालीले पाल्पामा विजय हासिल गर्दा करिब ५०० वीर गोर्खाली सैनिकहरूको मृत्यु भयो तर नेपालको भूभाग भने कत्ति पनि गुमाउनु परेन । युद्धको विजयको समाचार चारैतिर फैलियो । उजारसिंह थापाले आफ्नो भाकल भुलेनन् ।

वि.सं. १८७२ मा भगवतीको तीन तले मन्दिर निर्माणको थालनी गरे । जुन मन्दिरमा वि.सं. १८७६ मा तैयार भयो । तीन तले छाना भएको मन्दिर तैयार भएपछि उनले आफ्नै कद बराबरको सुनको परत चढाइएको गजुर राखे । साथै सेन राज्यकालदेखि पूजा गर्दै आइरहेको शिलाको मूर्तिलाई गर्भमा राखी सो माथि अठार वटा हात भएको अष्ट धातुको महिषासुर मर्दिन भगवतीको मूर्ति स्थापना गरी सो माथि चाँदीको छत्र समेत राखिदिए ।

मन्दिरको चारैतिर सूर्य, विष्णु, शिव र गणेशको मूर्ति समेत स्थापना गरी पाटनबाट चन्द्र मणि गुभाजुलाई झिकाइ मन्दिरको पुजारी बनाए । मन्दिरको सबै यथोचित व्यवस्था पुरा भएपछि अर्को वर्ष वि.सं. १८७७ भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट कर्णेल उजारसिंह थापाले आफ्नो भाकल पूरा गर्दै रणउजीरेश्वरी भगवतीको रथयात्रा गराए । सो रथयात्रामा सबैभन्दा अगाडि आफै अङ्ग्रेज युद्धमा विजयी गराएको आफ्नै खड्ग हातमा लिइ रणउजीरेश्वरीको रथयात्राको नेतृत्व गरेका थिए ।

सो रथ यात्राको आरम्भमा अहिले पनि सबैभन्दा पहिले कर्णेल उजारसिंहको खड्ग बोकेका सैनिक अधिकृत अघि लागेर मन्दिर भित्र रहेको देवीको प्रतिमा रथमा राखिन्छ । त्यसपछि सैनिकहरूको सम्मान गारद पछि रथलाई तीन पटक मन्दिर परिक्रमा गराइन्छ । परिक्रमा पछि पहिले पहिले सुरुमा बडाहाकिमको पूजा पछि मात्र सर्वसाधारणको पूजा गरिने परम्परा रहेको थियो । भने अचेल पहिलो पूजा प्रमुख जिल्ला अधिकारीले गरेपछि मात्र सर्वसाधारणको पूजा गराइन्छ । यो जात्रा जब जब पाल्पामा निस्कन्छ तब नेपालको इतिहासको गर्वीत क्षणको याद दिलाउँछ । अङ्ग्रेज माथि युद्धमा विजयको इतिहासले गर्वीत बनाउँछ ।तस्बिरमा ६० वर्ष अगाडि पाल्पाको रणउजीरेश्वरी भगवतीको जात्राको अवसरमा बजार परिक्रमा गर्दै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया