सशस्त्र र चिनियाँ प्रहरीको संयुक्त टोलीद्वारा सीमास्तम्भ निरीक्षण

नेपालखोज २०८२ भदौ १ गते १६:५२

सङ्खुवासभा । सशस्त्र प्रहरी बल नेपाल किमाथाङ्का स्थित सीमा सुरक्षा पोष्ट (बिओपी) र चिनियाँ प्रहरीको संयुक्त टोलीले सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाका रहेका नेपाल-सीमामा रहेका स्तम्भ निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ अरुण गुल्म चैनपुरअन्तर्गतको किमाथाङ्का बिओपी र चिनियाँ प्रहरीको संयुक्त टोलीले उत्तरी क्षेत्र भोटखोला गाउँपालिका-१ किमाथाङ्का चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना पर्ने नेपाल-चीन सिमानाका पाँच स्तम्भको निरीक्षण गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ अरुण गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेलका अनुसार उक्त टोलीले ६६, ६७, ६८ र २, ६९र१ र ६९र२ नम्बरका स्तम्भ (जङ्गेपिल्लर) निरीक्षण गर्नुका साथै सीमाको अवस्थालगायतबारे जानकारी लिएको थियो ।

टोलीमा किमाथाङ्काका इन्चार्ज नविन खतिवडा नेतृत्वमा सात जना, नेपाल प्रहरीका चार जना र चीनका तर्फबाट आठ जनाको सहभागी थिए । टोलीले सीमा स्तम्भ निरीक्षणका साथै सरसफाइ समेत गरेको थियो ।

नेपाल-चीनको सीमाअन्तर्गत सङ्खुवासभामा २१ वटा स्तम्भ छन् । भोटखोला-१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा गत जेठमा आएको बाढीले यहाँस्थित ७१/१ नम्बरको स्तम्भ बगाएको थियो । भोटखोला गाउँपालिका वडा नं १, २ र ३ को भूभाग चीनसँग जोडिएका छन् ।

यस क्षेत्रमा करिब पाँच हजारको बसोबास छ । किमाथाङ्का नाकामा २०७६ सालमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट स्थापना भएको हो ।

प्रतिक्रिया