एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु

नेपालखोज २०८२ भदौ १ गते १७:००

काठमाडौं । दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । आइतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरतसिंह भण्डारीले भर्चुअलरुपमा उद्घाटन गरेका हुन् ।

याे अवसरमा मन्त्री भण्डारीले एनआरएनएसँग मिलेर काम गर्न सदैव तयार रहेको बताउँदै एनआरएनए दक्षिण कोरियाले सरकारले गर्नुपर्ने काम गरेकोमा प्रशंसा व्यक्त गरे । उनले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सृजनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रस्ट पारे ।

सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरूपता र सहज बनाउनका लागि ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधान गर्नका लागि पाइलट प्रोजेक्ट चाँडै सुरु हुने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि गैर आवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आइसिसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग रहने स्पष्ट पारे ।
उनले भने ‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टल लाई प्रयोग गरेर यसलाई विशेष र फराकिलो ढङ्गले काम गर्न लागि रहेका छौँ । यसको परिणाम अबको केही दिनमै तपाईँहरूले देखिहाल्नुहुने छ ।’

फरक प्रसङ्गमा अध्यक्ष श्रेष्ठले एनआरएनए भित्रको विभाजन, अन्यौलता र केही कानुनी कुराहरू अब सम्मानित सर्वोच्च अदालतले चाडै टुङ्गाउने आशा व्यक्त गरे ।

प्रतिक्रिया