हालैका दुर्घटनाका बाबजुद पाकिस्तानमा पर्वतारोहण अभियान नरोकिने

नेपालखोज २०८२ भदौ १ गते १७:३४

पेशावर (पाकिस्तान) । हालै पर्वतारोहणका क्रममा विदेशी पर्वतारोहीहरूको मृत्यु भए पनि पाकिस्तानले उत्तरका पहाडहरूमा पर्वतारोहण अभियानमा कुनै प्रतिबन्ध लगाउने वा चेतावनी जारी गर्ने योजना नराखेको सरकारी अधिकारीहरूले बताएका छन् ।

गिलगिट–बाल्टिस्तान सरकारका प्रवक्ता फैजुल्ला फाराकले भने, पर्वतारोहीहरूलाई कठोर मौसम र सम्भावित जोखिमबारे पूर्ण जानकारी हुन्छ । त्यसका बाबजुद, उनीहरूले स्वेच्छाले यी चुनौती स्वीकार गरेर विश्वका अग्ला शिखरहरूमा हात हाल्छन् ।

गत मङ्गलबार ३७ वर्षीया चिनियाँ पर्वतारोही गुआन जिङ विश्वको दोस्रो अग्लो शिखर के–२ मा चट्टान खस्दा ज्यान गुमाएकी थिइन् । उनको शव शनिबार उद्धार टोलीले बरामद गरेको र हाल स्कार्दूको कम्बाइन्ड मिलिटरी अस्पतालमा राखिएको अधिकारीहरूले बताएका छन् । यसअघि जर्मन पर्वतारोही तथा ओलम्पिक विजेता लौरा डाहलमेयरको पनि काराकोरम श्रृङ्खलामा मृत्यु भएको थियो ।

फाराकले पाकिस्तान सरकारले पर्वतारोहण अभियानका लागि आवश्यक पूर्वाधार, उद्धार सुविधा, सुरक्षा र सहज वातावरण उपलब्ध गराउने प्रयास गरिरहेको बताए । यी अभियानहरू स्थानीय अर्थतन्त्रको मेरुदण्ड हुन्, जसले प्रत्यक्ष रूपमा लाखौँ डलरको आम्दानी ल्याउँछ । हजारौँ स्थानीयले मेदेखि सेप्टेम्बरसम्म यिनै अभियानबाट आम्दानी गर्छन्, उनले भने ।

हरेक वर्ष सयौँ पर्वतारोहीले उत्तरी पाकिस्तानका शिखरहरूमा आरोहण गर्ने प्रयास गर्छन् । तर हिमस्खलन, आकस्मिक मौसम र भूस्खलनका कारण दुर्घटनाहरू सामान्य रूपमा हुने गरेका छन् । यस वर्ष मनसुन असामान्य रूपमा बढी भएकाले आकस्मिक बाढी र पहिरोले चुनौती थपेको छ ।

प्रतिक्रिया