दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा उत्तर कोरियाको खतरा सामना गर्न वार्षिक ग्रीष्मकालीन अभ्यास सुरु

सियोल । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त उत्तर कोरियाको खतरालाई सामना गर्न वार्षिक ठूलो सैन्य अभ्यास सुरु गरेका छन् । यसले क्षेत्रीय तनाव अझै बढ्ने सम्भावना रहेको छ । उत्तर कोरियाले यसलाई आक्रमण अभ्यासका रूपमा चित्रण गर्दै ‘कुनै पनि उक्साहट’ को जवाफ दिने चेतावनी दिएको छ ।
एघार दिने ‘उल्ची फ्रिडम सिल्ड’ नामक अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिकहरू सहभागी छन् । यसमा कम्प्युटर–सिमुलेटेड कमान्ड पोस्ट अपरेसन र फिल्ड प्रशिक्षण समावेश छ । सहयोगीहरूले यसलाई रक्षात्मक भन्दै आएका छन्, तर उत्तर कोरियाले प्रायः यस्ता अभ्यासलाई हतियार परीक्षण र सैन्य प्रदर्शन गर्ने बहानाका रूपमा प्रयोग गर्ने गरेको छ ।
गत हप्तामा उत्तर कोरियाली रक्षामन्त्री नो क्वाङ चोलले अभ्यासलाई ‘सैन्य टकराव’ को सङ्केत भन्दै आफ्नो सेना सीमा बाहिर जाने कुनै पनि गतिविधिको प्रतिकार गर्न तयार रहेको बताएका थिए । यो अभ्यास दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङका लागि संवेदनशील समयमा भइरहेको छ । उनी अगस्ट २५ मा वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर सम्मेलनको तयारीमा छन् । ट्रम्पले विगतमा दक्षिण कोरियामा तैनाथ अमेरिकी सैनिकहरूको खर्च बढाउन माग गरेका थिए, जसले गठबन्धनमा दबाब बढाएको छ । उत्तर कोरियाले लीको कूटनीतिक आह्वानलाई बेवास्ता गरेको छ ।
नेता किम जोङ उनले आफ्नो हतियार कार्यक्रमलाई गति दिइरहेका बेला र रुससँग सम्बन्ध गहिरो बनाइरहेका कारण कोरियाली प्रायद्वीपमा तनाव बढेको छ । लीले सोमबार भने, हामीलाई अब आवश्यक कुरा भनेको दृढ सुरक्षा तयारीसँगै निरन्तर तनाव घटाउने कदम चाल्नु हो । दक्षिण कोरियाले सोमबार चार दिने नागरिक सुरक्षा अभ्यास पनि सुरु गरेको छ । अघिल्लो सरकारले यस्तै अभ्यासलाई अझ विस्तार गरेको थियो, जसले किमलाई क्रोधित बनाएको थियो ।
ली सरकारले सन् २०१८ मा हस्ताक्षर भएको अन्तर–कोरियाली सैन्य सम्झौता पुनःस्थापना गर्ने प्रयास गर्ने बताएको छ । त्यस सम्झौताले सीमा क्षेत्रमा बफर जोन र नो–फ्लाई जोन बनाएको थियो । तर सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियातर्फ फोहोरले भरिएका बेलुन पठाएपछि दक्षिण कोरियाले सम्झौता स्थगित गरेको थियो । उत्तर कोरियाले त्यसपछि सम्झौता नमान्ने घोषणा गरिसकेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने अमेरिकी सैन्य अभ्याससँग सम्झौता पुनःस्थापना गर्ने कदमको तत्काल कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया