अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–९ बाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ सय ५० ट्याब्लेट सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका–४ बस्ने ४३ वर्षीय केदार ओझा र मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने २२ वर्षीया एन्जिला दाहाल रहेका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले आमबारीबाट उर्लाबारीतर्फ आँउदै गरेको बा.३ च ७९८१ नम्बरको कारलाई जाँच गर्दा उक्त लागूऔषध फेला पारी चालक केदार र कारमा सवार एन्जिलालाई पक्राउ गरेको हो ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ मालपोत टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २ सय १० मिलिग्राम सहित भारत महाराजगंज थाना ठुठिबारी ग्राम चटनिया बस्ने २८ वर्षीय सन्नि कुमारलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुर बाईपासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ठाकुरबाबा नगरपालिका–४ बस्ने २१ वर्षीय अबिशेष चौधरी र सोही नगरपालिका–१ बस्ने २१ वर्षीय विशाल खत्री रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका–४ डेरा गरी बस्ने कृष्णपुर नगरपालिका–३ बाणी घर भएका २१ वर्षीय सन्दिप जोशीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय १० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–७ स्पेशल चोकस्थित सडकमा बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर र प्रदेश ३–०२–००२ प ५७२ नम्बरको मोटरसाइकल एकआपासमा ठक्कर खाई गए राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक काठमाडौं बाँसबारी बस्ने सिराहा घर भएका २९ वर्षीय भोला थापा र स्कुटर चालक काठमाडौं कपन बस्ने स्याङ्जा घर भएका २९ वर्षीय रामु प्रसाद ढकाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको त्रिबि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर र मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पशुराम तलाउस्थित सडकमा धनुषाधामबाट जनकपुरतर्फ जाँदै गरेको ज.८ प ८५२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सबैला नगरपालिका–२ बस्ने २१ वर्षीय संतोष दासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको साई ट्रामा अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका–४ पाल्पा रोडस्थित सडकमा लु.२ ख १६९४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सैनामैना नगरपालिका–४ बस्ने २६ वर्षीया सुस्मा खत्रीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
ललितपुर महानगरपालिका–११ बंगलामुखी श्री गल्ली डेरा गरी बस्ने पुनम श्रेष्ठको कोठाबाट सुनका गरगहना र नगद समेत गरी करिब ११ लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल आइतबार बिहान चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया