बिहीबार, पुष १०, २०८२

इरानबाट अफगानिस्तान फर्किँदै गरेको बस दुर्घटना, ७३ जनाको मृत्यु

नेपालखोज २०८२ भदौ ४ गते ११:३६

पश्चिमी अफगानिस्तानमा भएको बस दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ । जसमा १७ जना बालबालिका पनि छन् । मृतकमध्ये धेरैजसो इरानबाट फिर्ता पठाइएका अफगान आप्रवासी भएको तालिवान अधिकारीहरूले बताएका छन् ।

तालिवानको हेरात प्रान्तीय सूचना तथा संस्कृति विभागका निर्देशक अहमदुल्लाह मोट्तकीका अनुसार काबुलतर्फ जाँदै गरेको बस मंगलबार राति हेरात प्रान्तमा एउटा ट्रक र मोटरसाइकलसँग ठोक्किएपछि आगो लागेको थियो । उनले बताएअनुसार बसभित्र रहेका सबै यात्रु र अन्य सवारी साधनका दुई जनाको मृत्यु भएको छ ।

हालैका महिनामा इरानले अवैध रूपमा बसेका अफगान आप्रवासीहरूलाई जबर्जस्ती फिर्ता पठाइरहेका छन् । प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सईदीले एएफपीलाई बताएअनुसार, सबै यात्रु इस्लाम काला ९अफगान–इरान सीमा नजिकको शहर०बाट सवार भएका आप्रवासी थिए ।

हेरात प्रहरीले बस अत्यधिक गतिमा रहेका कारण दुर्घटना भएको जनाएको छ । अफगानिस्तानमा सडक नियम कडाइका साथ लागू नहुने र दशकौंको द्वन्द्वले सडक पूर्वाधार क्षतिग्रस्त भएकाले दुर्घटना सामान्य हुने गरेका छन् ।

सन् १९७० को दशकदेखि लाखौं अफगानहरू इरान र पाकिस्तान पलायन भएका छन् । सन् १९७९ को सोभियत आक्रमण र २०२१ मा तालिवान सत्तामा फर्किएपछि ठूलो संख्यामा आप्रवासन भएको थियो । यसले इरानमा विरोधी–अफगान भावनालाई बढाएको छ, जसका कारण शरणार्थीहरू प्रणालीगत भेदभावको सामना गरिरहेका छन् ।

इरानले यसअघि अवैध रूपमा बसेका अफगानहरूलाई स्वेच्छाले फर्कन जुलाईसम्मको समय दिएको थियो । तर, जुनमा इजरायलसँग भएको छोटो युद्धपछि सुरक्षा चिन्ता देखाउँदै इरानी अधिकारीहरूले लाखौं अफगानलाई जबर्जस्ती फिर्ता पठाएका छन् । आलोचकहरूका अनुसार इरानले इजरायली आक्रमणविरुद्धको सुरक्षात्मक असफलताको दोष अरूलाई थोपर्ने प्रयास मात्र गरिरहेको छ।

संयुक्त राष्ट्र शरणार्थी निकायका अनुसार यो वर्ष जनवरीयता १५ लाखभन्दा बढी अफगानहरू इरान छोडिसकेका छन्, जसमा केही पुस्तौंदेखि त्यहाँ बसोबास गर्दै आएका थिए । पाकिस्तानले पनि लाखौं अफगानलाई देश छाड्न बाध्य पारेको बेला यसले थप दबाब सिर्जना गरेको छ ।

‘यति धेरै मानिस फर्किनु पहिले नै अभावग्रस्त स्रोतमा थप बोझ बनेको छ । यो नयाँ शरणार्थी लहर त्यतिबेला आएको छ, जब अफगानिस्तानले सहयोग कटौतीका कठोर प्रभाव भोग्न थालेको छ’, सेभ द चिल्ड्रेन अफगानिस्तानका निर्देशक अर्शद मलिकले भने ।

प्रतिक्रिया