पाकिस्तानको संसदीय प्रतिनिधिमण्डल र सभामुखबीच भेट, दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धबारे चर्चा

नेपालखोज २०८२ भदौ ४ गते १२:०४

काठमाडौं । सभामुख देवराज घिमिरे र पाकिस्तानको संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता भएकाे छ ।

बुधबार सिंहदरबारमा काठमाडौंमा जारी द हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट-२०२५ मा सहभागी हुन नेपाल आएका पाकिस्तानको संसदीय प्रतिनिधि मण्डल र सभामुखबीच भेटवार्ता भएकाे हाे ।

पाकिस्तानी सांसद मुनाजा हसनको नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई स्वागत गर्दै सभामुख घिमिरेले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध तथा क्षेत्रीय सहकार्यका सम्भावनाबारे चर्चा गरे ।

भेटमा उनले जलवायु परिवर्तन, दिगो विकास र जनजीविकामा पर्वतीय क्षेत्रले भोगिरहेका चुनौतीलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सभामुखले दुई देशबीच व्यापार, कनेक्टिभिटी तथा पर्यटनका सम्भावनाहरू रहेको बताउँदै त्यसमा संसदीय सहकार्य गर्न सकिने धारणा राखेका उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलकी नेतृ हसनले नेपालले हिन्दू कुश हिमालय पार्लियामेन्टेरियन्स मिट-२०२५ सफल रूपमा सम्पन्न गरेको भन्दै धन्यवाद ज्ञापन गरिन् ।

प्रतिक्रिया