लिपुलेक हुँदै चीन-भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग

नेपालखोज २०८२ भदौ ५ गते १५:३५

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले लिपुलेकमा सीमा व्यापार शुरू गर्नेगरी भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएको छ । माओवादीले भारत र चीनबीच भएको सहमतिबारे संसद्‌मा सरकारको जवाफ पनि माग गरेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारी नदिई लिपु्लेकबारे गरिएको सहमति आपत्तिको विषय भएको बताएका हुन् ।

‘आज नेपाल आमालाई दुखिरहेको छ । छिमेकी मित्रराष्ट्रले नेपाललाई जानकारी समेत नदिई व्यापार नाका खोल्ने सहमतिले गम्भीर बनाएको छ’, उनले भने, लिपुलेक, कालापानी, लिम्पियाधुराबारे नेपाललाई जानकारी नदिई गरिएको सहमतिप्रति आपत्ति र विरोध गर्दछौं ।’

माओवादी केन्द्रले दुई छिमेकी देशसँग कूटनीतिक र राजनीतिक संवादमार्फत् समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘राष्ट्रिय सार्वभौमिकता तथा अखण्डताको रक्षा गर्नु सरकारको मुख्य काम हो । यसप्रकारको काममा आवश्यक प्रभावकारी कूटनीतिक पहल अगाडि बढाउन आग्रह गर्छौं’, पाण्डेले भने, ‘सार्वैभौमिकताको रक्षाको काममा दह्रोसँग उभिन र आवश्यक प्रभावकारी कूटनीतिक पहलकदमीमार्फत् दुवै छिमेकीसँग कूटनीतिक र राजनीतिक पहल अगाडि बढाउन सरकारलाई आग्रह गर्छौं ।’

पाण्डेले यसविषयमा जनताका प्रतिनिधिको थलो सदनलाई जानकारी गराउन तथा नेपालको हितको पक्षमा एकजुट हुन सबै जनतासँग अपिल गरे ।

चिनियाँ विदेश मन्त्री वाङ यीको भारत भ्रमणको क्रममा अगस्ट १९ (भदौ ३)मा लिपुलेकबाट सीमा व्यापार गर्ने बारे दुई देशबीच सहमति भएको थियो ।

प्रतिक्रिया