मधेस प्रदेशमा लगानी सम्मेलनबारे छलफल

नेपालखोज २०८२ भदौ ५ गते २१:५७

जनकपुर । मधेस प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । जनकपुरधाममा आज मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, नीति आयोगका सदस्य राजकुमार सिंह, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक वैधलगायतको उपस्थितिमा छलफल भएको हो ।

सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतको परिचय गराउँदै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने, सहकार्य र साझेदारीमा विकासलाई अघि बढाउने, रोजगारी सिर्जना गर्ने र प्रदेशलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय लगानी गन्तव्यको रूपमा स्थापित गर्नु रहेको आर्थिक सल्लाहकार वैधले जानकारी दिए ।

सम्मेलनमार्फत कृषि, उद्योग, पर्यटन, ऊर्जा, पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रका लगानी अवसर प्रस्तुत गरिने तयारी छ । यस्तै, प्रदेशमा आन्तरिक तथा बाह्य लगानी आकर्षित भई स्थानीय युवाका लागि रोजगारी सिर्जना हुने, धार्मिक–सांस्कृतिक सम्पदा संरक्षणसँगै पर्यटन प्रवर्द्धन हुने, कृषि तथा उद्योगमा उत्पादकत्व वृद्धि हुने र आर्थिक आत्मनिर्भरता मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रदेश सरकारका अनुसार लगानी सम्मेलन मधेस प्रदेशको दीगो आर्थिक विकास, सामाजिक समृद्धि र सांस्कृतिक संरक्षणका लागि एक महत्वपूर्ण अवसर हुनेछ । यसका लागि प्रदेश सरकार, निजी क्षेत्र, सङ्घीय सरकार र अन्तरराष्ट्रिय विकास साझेदारबीच सहकार्यमा कार्यक्रमलाई सफल बनाउने तयारी भइरहेको छ । -रासस

प्रतिक्रिया