एकसाथ तीन चलचित्र

काठमाडौं । आजदेखि तीन नेपाली चलचित्र ‘माग्ने राजा’, ‘ताराहरू’ र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रदर्शन भएका छन् । आउँदो तीजलाई लक्षित गर्दै एकसाथ तीन नेपाली चलचित्र प्रदर्शन भएका हुन् । भिन्न विधाका रहेकाले तीनै चलचित्रले दर्शकको माया पाउने विश्वास चलचित्रकर्मीको छ ।
असार र साउनमा नेपाली चलचित्रको प्रदर्शनको सङ्ख्या कम भए पनि तीजदेखि तिहारलाई लक्षित गर्दै प्रत्येक साता नयाँ नेपाली चलचित्र प्रदर्शन हुनेछन् । एउटा साधारण व्यक्तिले आफूलाई राजा ठानेपछि आउने उतारचढावलाई देखाइएको चलचित्र ‘माग्ने राजा’ मा ‘माग्ने बुढा’ को उपनामले चिनिनुभएका कलाकार केदारप्रसाद घिमिरे शीर्ष भूमिकामा छन् ।
आफूलाई नै हेरेर लेखकले पात्र र चलचित्रको कथा तयार गरेको लागेपछि चलचित्रमा काम गरेको कलाकार घिमिरेले बताए । उनले भने, ‘यो पात्र मसँग जोडिएको छ । मलाई नै हरेर तयार गरिएको जस्तो छ । मलाई सधैँ सहायक भूमिकामा देख्ने र चलचित्रभर देखिँदा कस्तो हुन्छ वा हेर्न पाउँ भन्ने दर्शकका लागि यो चलचित्र खास छ । यो हास्यव्यङग्यसँग मात्र जोडिएको छैन, एउटा गहन विषय उठाइएको छ । चलचित्रमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिए पनि यसले एउटा महत्वपूर्ण शिक्षा पनि दिन्छ ।’
उक्त चलचित्रमा कलाकार घिमिरेसँगै वर्षा सिवाकोटी, विल्सनविक्रम राई, आर्यन सिग्देललगायतका कलाकारले अभिनय गरेका छन् । मुनाल घिमिरेले निर्माण गरेका उक्त चलचित्रमा ऋषि लामिछाने निर्देशक, सामीप्यराज तिमल्सेना लेखक, मित्र गुरुङले सम्पादन, नरेन्द्र मैनालीले छायाङ्कन र सुजिल कर्माचार्यले पाश्र्व सङ्गीत सिर्जना गरे । आजदेखि नै प्रदर्शन भएको अर्को चलचित्र ‘ताराहरू’ किशोर मनोविज्ञानलाई खोतलेर उनीहरूको मानसिक स्वास्थ्यको कथा देखाइएको चलचित्र हो ।
डेढ दशकभन्दा बढी समयदेखि रङ्गकर्मीका रुपमा चिनिनुभएका आशान्त शर्माले निर्देशन गर्नुभएको उक्त चलचित्रमा मृत्यु कल्पेर हिँडेको युवकले एक अधबैँंसे महिला भेटेपछि उहाँको आँखामा भरिने सपना र आशासँगै आउने खुसीलाई चलचित्रको विषय बनाइएको छ । रङ्गमञ्चमा मात्र देखाइ रहँदा कथाले न्याय नपाएको महसुस गरेपछि कलाकार शर्माले चलचित्रमा रुपान्तरण गर्नुभएको जानकारी दिए ।
रङ्गमञ्चबाट भनिएको ‘साथी, साथी आइदेऊ न’ नाटकको कथालाई पुनः चलचित्रको माध्यममा ल्याउन विषयवस्तुले प्रभाव पारेको उनको भनाइ छ । उक्त चलचित्रमा कलाकार शर्मासँगै मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पङ्गेनी शर्मा, प्रमोद बाबु, विकास खनाललगायतका कलाकारले अभिनय गरेका छन् ।
आजदेखि नै प्रदर्शन भएको तेस्रो चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागा’ अभिनेता विजय बरालका कारण चर्चामा छ । उनले यसअगाडि मुख्य भूमिका निर्वाह गरेका ‘पूर्णबहादुरको सारङ्गी’ले पाएको सफलताका कारण यसपटक यो चलचित्र दर्शकसँगै चलचित्रकर्मीका लागि प्रतिक्षित छ । चलचित्रको कथा अभिनेता बरालमै केन्द्रीत छ ।
अभिनेता बरालले आफ्नो बुवाको सपना पूरा गर्ने उद्देश्य बोकेको पात्रलाई पर्दामा बाँचेको बताए । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको उक्त चलचित्रमा अभिनेता बरालसँगै केकी अधिकारी, मिरुना मगर, सुशाङ्क मैनाली, भोलाराज सापकोटा, रेयर राईलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।








प्रतिक्रिया