‘बर्का अट्वारी पर्वले सबैमा समृद्धिको भावना जागृत’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारू समुदायको महान् चाड बर्का अट्वारी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । थारू समुदायले उल्लासपूर्वक मनाउने बर्का अट्वारी पर्वले सबैमा भाइचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने शुभकामना व्यक्त गरेका हुन् ।
‘प्रकृतिपूजक थारू समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यस पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ’, शुभकामना सन्देशमा भनिएको छ, ‘प्रदेशभित्रका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनप्रति प्रतिबद्धता छ ।’
उनले नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको बताए । त्यसैअन्तर्गत थारू समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्त्वपूर्ण पर्वका रूपमा स्थापित भएको उनको भनाइ छ ।
बर्का अट्वारी पर्वमा विशेषगरी थारू पुरुषहरूले उपवास बस्ने, निराहार व्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक र सांस्कृतिक परम्परा रहेको छ । थारू समुदायले सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्दै आएका छन् । यस पर्वले धर्म, संस्कृति र परम्पराको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख छ ।

प्रतिक्रिया