युरोपबाट अमेरिका पठाइने पार्सल रोकियो, नयाँ कर नीतिका कारण अन्योल

काठमाडौं । अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् ।
जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत् पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ ।
यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर गरेको कार्यादेशपछि आएको हो। उक्त आदेशअनुसार अबदेखि ८०० अमेरिकी डलरसम्मको सामानमा लाग्ने ‘ड्युटी(फ्री’ सुविधा अन्त्य हुनेछ ।
अगस्ट २९ देखि लागु हुने नयाँ नियमअनुसार, सबै सामानमा भन्सार प्रक्रिया अनिवार्य हुनेछ र कर लाग्नेछ । यद्यपि, १०० डलरभन्दा कम मूल्यका उपहारहरू, यदि व्यक्ति(देखि(व्यक्तिलाई पठाइएको भनेर स्पष्ट उल्लेख गरिएको छ भने, तीमा छुट कायम रहनेछ ।
डिएचएलका अनुसार, हालसम्म अमेरिकाको नयाँ भन्सार प्रक्रिया स्पष्ट नभएकाले ढुवानीको विश्वसनीयता सुनिश्चित गर्न नसकिने भएकोले सेवा रोक्नुपरेको हो ।
युरोपका अरू धेरै देश फ्रान्स, बेलायत, इटली, अष्ट्रिया, फिनल्याण्ड, स्विडेन, लाट्भिया, क्रोएशिया, स्लोभेनिया र बोस्निया लगायतका पोस्ट अफिसहरूले पनि अमेरिका पठाइने पार्सलमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
फ्रान्सको ला पोस्टेले अगस्ट २५ देखि सामान पठाउने सेवा बन्द गर्ने बताएको छ, यद्यपि एक्सप्रेस सेवा, कागजात तथा साना उपहारहरू भने पठाउन पाइनेछ ।
पोस्ट युरोप नामक युरोपेली पोस्ट सेवाहरूको संघले यदि छिट्टै व्यवहारिक समाधान नखोजिएमा, अमेरिका पठाइने ढुवानीहरू पूर्ण रूपमा रोक्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।
अगस्ट २९ पछि अमेरिकामा पुग्ने तर त्यसअघिसम्म ट्रान्जिटमा रहेका पार्सलहरूबारे पनि अन्योल छ । ती सामानहरूमा पूर्ण कर लाग्न सक्ने हुँदा ग्राहक र सेवा प्रदायक दुवै अन्योलमा परेका छन् ।
यसले युरोपेली अनलाइन व्यवसाय र स्वतन्त्र विक्रेताहरूलाई प्रत्यक्ष असर पारेको छ । सस्ता राष्ट्रिय पोस्ट सेवामार्फत सामान अमेरिका पठाउने उनीहरूको प्रणालीमा ठुलो असर परेको छ ।
ढुवानी विज्ञ स्टेफन डाइकका अनुसार, ८०० डलरसम्मको छुट हटाएपछि वार्षिक १।३ अर्बभन्दा बढी पार्सल ‘फास्ट ट्र्याक’ बाट ‘फुल कस्टम्स प्रोसेस’मा जानुपर्नेछ, जसले बन्दरगाह, विमानस्थल र भन्सार एजेन्टहरूमाथि ठूलो दबाब सिर्जना गर्नेछ ।








प्रतिक्रिया