चित्रकला र पुस्तकालय एकापसमा परिपूरक : मन्त्री पन्त

नेपालखोज २०८२ भदौ ८ गते १९:५५

काठमाडौं । अठारौँ पुस्तकालय दिवसको सन्दर्भ पारेर आज नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ विषयक कला कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले चित्रकला र पुस्तकालय एकापसमा परिपूरक रहेको बताए । चित्रकारलाई पुस्तक अध्ययन गर्नका लागि आग्रह गर्दै उनले यसले चित्र अझै सरल र मजबुतका साथ प्रस्फुटन हुने बताए । मन्त्री पन्तले कला, सिर्जना र पुस्तकले नेपालको संस्कृति, परम्परा, सभ्यता तथा समसामयिक विषयलाई समेट्ने औँल्याए ।

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले पुस्तकालयले चेतना विकासमा प्रमुख भूमिका खेल्ने हुनाले यसलाई सबैको पहुँचसँग जोड्नुपर्ने बताए । उनले प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रतिष्ठानको बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले चित्रकलाको शिक्षामा महत्वपूर्ण भूमिका रहेको बताउँदै बालबालिकाको अध्ययनको सुरुआत चित्रबाट नै हुने बताए ।

कार्यशालामा रवीन्द्र मानन्धर, अनुप गुरुङ, भानु भट्टराई, सुरेम देशार, तिसा श्रेष्ठ, पल्पसा मानन्धर, अर्पिता शाक्य, आभा पौडेल, प्रतीक्षा तिवारी, आशिष सिंह गोलेलगायत कलाकारको सहभागिता थियो । उनीहरुले कार्यक्रमकै बीच प्रत्यक्ष कला सिर्जना गरेर देखाए ।

प्रतिक्रिया