बखानमा ‘बखान’को सार्वजनिक

चितवन । पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गरेका बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो ।
बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गरेका हुन् । देशकै पहिलो सहकारी स्थापना गरेका राजनैतिक र सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ्लाई मुख्य पात्र बनाइएको उपन्यास महत्वपूर्ण रहेको उनले बताए ।
यसले सहकारीलाईसमेत राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीद्वारा लिखित उपन्यासले बखानसिंह गुरुङको उच्च योगदानलाई इतिहासमा सजिव बनाएको बताए ।
विसं २०३९ मा कानुन तथा न्याय र भूमिसुधारमन्त्री बन्नुभएका बखानसिंह गुरुङ्का दुई छोरा सहिद छन् । सो अवसरमा गुरुङ्का नाति चन्द्रध्वज गुरुङ्ले बाजे बखानसिंह गुरुङ्को राजनैतिक यात्रा र सँगै परिवारले भोगेका पीडाका बारेमा बोलेका थिए ।
संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति तोपमानसिंह गुरुङ, बखान सहकारीद्धारा सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरे लगायतले सहकारीले गर्नुपर्ने काम पराजुलीद्वारा गरेका जनाउँदै आभार प्रकट गरेका थिए ।

प्रतिक्रिया