बुकीपाटन जाने पर्यटकका लागि ठाउँ-ठाउँमा विश्रामस्थल

नेपालखोज २०८२ भदौ ९ गते १३:२४

बागलुङ । अघिल्लो वर्षसम्म बुकीपाटन जाने पर्यटकका लागि पदमार्गका छेउछाउमा विश्राम गर्ने कुनै पनि संरचना निर्माण भएका थिएनन् ।

घण्टौँको पैदलयात्राले थकित पर्यटक गोरेटो छेउमै विश्राम लिन्थे । तर अहिले त्यो समस्याको समाधान भएको छ । ढोरपाटन उपत्यकादेखि करिब पाँच घण्टा उकालो पैदल यात्रापछि मात्रै बुकीपाटनको पहिलो स्थान गर्पाछेडा पुगिने हुँदा ठाउँ-ठाउँमा विश्रामस्थल निर्माण गरिएको छ ।

पदमार्गको छेउमा निर्माण गरिएका विश्रामस्थलले आन्तरिक तथा बाह्य पर्यटकको बुकीपाटन यात्रालाई सहज बनाई दिएको छ । पर्यटन तथा उद्योग कार्यालय बागलुङले २० लाखमा पदमार्गसहित चेप्टा ढुङ्गा, ढुङ्गे देउराली र गर्पाछेडा गरी तीन स्थानमा विश्रामस्थल बनाई दिएको छ । विश्रामस्थलमा पर्यटकले रातसमेत बिताउने गरेका छन् । उच्च पहाडी क्षेत्र भएको हुँदा यहाँको मौसम निकै चिसो हुने हुँदा विश्रामस्थलमा बास बस्दा न्यानो कपडा भने आवश्यक पर्छ ।

अघिल्लो वर्षदेखि चर्चामा आएको बुकीपाटन यस वर्ष दैनिक १०० बढी पर्यटक ढोरपाटन उपत्यकादेखि उक्लिने गरेका छन् । ढोरपाटन पुगेका पर्यटक जति बेला पनि बुकीपाटन उक्लिँदा बीच बाटोमा अलपत्रसमेत पर्ने गरेका छन् । मौसम हेरेर दिउँसो २ः०० बजेभन्दा पछाडि ढोरपाटन उपत्यकादेखि बुकीपाटनको यात्रा गर्न नहुने होटल व्यवसायी सङ्घ ढोरपाटनका अध्यक्ष जीवन पुनले बताए । बुकीपाटन पुग्नका लागि तीनदेखि पाँच घण्टा लाग्ने हुँदा साँझपख यात्रा तय नगर्न उनले आग्रह गरे ।

काठमाडौंबाट घुम्न आएका रूपेश वाइबाले ठाडोखोलादेखि माथि निकै उकालो रहेको हुँदा ढुङ्गे देउराली पुगेपछि दुई घण्टा विश्रामस्थलमा आराम गरेर गर्पाछेडा पुगेको बताए । पदमार्ग छेउमा बनेका काठका फल्याक र जस्तापाताले छाएका विश्रामस्थलले आफूजस्ता पर्यटकलाई ठूलो राहत दिएको उनको भनाइ छ ।

पोखराबाट आएका डेभिड गुरुङले ढोरपाटनबाट ढिला यात्रा गर्दा बुकीपाटन नपुग्दै राति भएपछि ‘स्लिपिङ ब्याग’ बिच्याएर विश्रामस्थलमै बास बसेको बताए । चार जनाको समूहमा घुम्न आएको सुनाउँदै चेप्टाढुङ्गा पुग्दा साँझ परेपछि त्यहीँको विश्रामस्थलमा रात बिताएको उनको भनाइ छ ।

प्रतिक्रिया