तीजले सामाजिक समरसता कायम गर्छ : उपराष्ट्रपति

नेपालखोज २०८२ भदौ १० गते ६:१८

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तीज पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउँदै सांस्कृतिक पहिचानलाई जोगाउन र सामाजिक समरसता कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

हरितालिका तीज, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना व्यक्त गर्दै उनले भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व धार्मिक आस्था, सांस्कृतिक गौरव र पारिवारिक प्रेमको अनुपम प्रतीक भएको बताए ।

उनले भने, ‘प्रकृतिको हरियालीले सिँगारिएको मौसममा मनाइने यो पर्व उत्सव, उमङ्ग, उल्लास र आत्मीय मिलनको सन्देश बोकेर आउँछ, नेपाली समाजको बहुरङ्गी संस्कृति र विविध परम्पराबीच मनाइने यो पर्वले हामीलाई एकता, सहिष्णुता र आपसी सद्भावको मार्गमा अग्रसर हुन सघाउँदछ ।’

पारिवारिक समर्पणको प्रतीक यो पर्वमा विवाहित महिलाहरूले पतिको दीर्घायु र समृद्धिको कामना गर्दै व्रत बस्ने परम्परा छ भने कुमारी कन्याहरूले भगवान् शिवजस्तो योग्य वरको कामना गर्दै मनाउने चलन र धार्मिक मान्यता रहिआएको छ ।

सामाजिक एकता र मेलमिलापको सन्देश बोकेको तीज पर्वले विभिन्न समुदायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रदान गर्ने र टाढा पुगेका छोरीचेलीहरुलाई माइतीले बोलाउने मौलिक परम्पराले सामाजिक÷पारिवारिक आत्मीयता र सद्भाव कायम राख्न सघाउने उनको भनाइ छ ।

उनले सन्देशमा भने, ‘नेपालमा बसोबास गर्ने विभिन्न जाति, समुदायलेसमेत धुमधामका साथ मनाउने यो पर्वले सांस्कृतिक विविधता बोकेको छ, यो पर्वले नेपाली समाजको सांस्कृतिक विविधता र एकतालाई बलियो बनाउन सहयोग पुग्दछ ।’

प्रतिक्रिया