त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार

नेपालखोज २०८२ भदौ १० गते १०:२५

तनहुँ । देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार साँझ नदीले बगाएर बेपत्ता हुनेमा भरतपुर महानगरपालिका-१६ मङ्गलपुरका १७ वर्षीय कृष्ण लामिछाने रहेका छन् भने भरतपुर-१५ फूलबारीका १३ वर्षीय कुशल ढकालको सकुशल उद्धार गरिएको हो ।

प्रहरी नायब उपरीक्षक अशोक थापाले बालक लामिछानेसँगै पौडी खेल्न गएका भरतपुर-१५ फूलबारीका १३ वर्षीय ढकालको सकुशल उद्धार गरिएको जानकारी दिए ।

उनका अनुसार स्थानीय सोमबहादुर बोटेले बालक ढकालको उद्धार गरेका थिए । प्रहरी नायब उपरीक्षक थापाले भने, ‘इलाका प्रहरी कार्यालय देवघाट, प्रहरी चौकी जुगेडी र १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले वेपत्ता बालकको खोजतलास भइरहेको छ, फेला पार्न सकिरहेको छैन ।’

प्रतिक्रिया