मौलिक संस्कृति जोगाउनुपर्नेमा सभामुखको जोड

नेपालखोज २०८२ भदौ १० गते १२:२६

काठमाडौं । सभामुख देवराज घिमिरेले मौलिक संस्कृति जोगाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले आफ्ना मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

तीज पर्वले लैङ्गिक समानता, सामाजिक सद्भाव र पारिवारिक मिलनको महत्वलाई उजागर गर्दै आएको बताउँदै उनले यस्ता पर्वबाट सामाजिक अवरोध हटाउँदै समतामूलक समाज निर्माणतर्फ अघि बढ्ने प्रेरणा लिनुपर्ने विचार व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले शुभकामना सन्देशमा भनेका छन्, ‘नेपाल भौगोलिक विविधता, धार्मिक र सांस्कृतिक समृद्धि, बहुजातीय र बहुभाषिक संरचना, सहिष्णुता र सहअस्तित्वको परम्परा र सामाजिक सद्भावसहित अनेकतामा एकता भएको मुलुक हो, हाम्रो संविधानले धार्मिक स्वतन्त्रता, सांस्कृतिक हक र लैङ्गिक समानताको सुनिश्चितता गरेको छ ।’

प्रतिक्रिया