बिहीबार, पुष १०, २०८२

भियतनाममा टाइफुन काजिकीका कारण मृत्यु हुनेको सङ्ख्या बढ्यो

नेपालखोज २०८२ भदौ १० गते १३:२३

काठमाडौं । भियतनाममा टाइफुन काजिकीका कारण मङ्गलबारसम्म मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । उखेलिएका रूख र बिजुलीका तारले अराजकता ल्याउँदा उद्धारकर्मीको ज्यान गएको छ । राजधानी हनोईसहित धेरै क्षेत्रमा भीषण बाढी र आँधीले दैनिक जीवन अस्तव्यस्त बनाएको छ ।

सोमबार मध्य भियतनाममा आएको आँधीले १३० किमी प्रतिघण्टा (८० माइल प्रतिघण्टा) को वेगमा चलेको हावाले हजारौँ घरका छत उडाएको छ भने र १६ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएका छन् ।

मङ्गलबारसम्म तीन जनाको मृत्यु र १३ जना घाइते भएको पुष्टि भएको छ । अधिकारीहरूले आठ प्रान्तमा आकस्मिक बाढी र भूस्खलनको चेतावनी जारी गरेका छन् ।

भिन्हमा सैनिक र उद्धारकर्मीहरूले काट्ने उपकरण प्रयोग गरी सडक अवरुद्ध गर्ने दर्जनौँ रूख र छतका प्यानल हटाइरहेका थिए ।

भियतनाम बर्सेनि टाइफुनको मारमा पर्छ, तर जलवायु परिवर्तनका कारण यी आँधीबेहरी अझै तीव्र र अप्रत्याशित बन्दै गएका छन् । यसले उष्णकटिबन्धीय क्षेत्रमा बाढी र विनाशकारी आँधीबेहरीको सम्भावना बढाएको विज्ञहरूले चेतावनी दिएका छन् ।

भिन्हकी ६० वर्षीया गुयेन थी होआले भने, ‘हामीलाई वर्षा र बाढीको बानी परिसकेको छ तर हिजो जस्तो तीव्र हावा र त्यसको विनाशकारी प्रभाव पहिले कहिल्यै अनुभव गरेको थिइनँ ।’

बाढीका कारण भित्री पहाडी क्षेत्रका २७ गाउँ अलगिएका छन् भने ४४ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रतिक्रिया