टाइम पास : बदलिँदो परिस्थितिमा तीज पर्व

सुनील सापकोटा २०८२ भदौ १० गते १४:३०

आज नेपालमा हिन्दू महिलाहरुको तीज पर्व । यो पर्व श्रावण शुक्ल तृतीयाका दिन मनाइन्छ। तीजपर्व भगवान शिव र पार्वतीको बिवाहा वा मिलनको कथा संग जोडिएकोछ। किंवदन्तीअनुसार पार्वतीले कठोर व्रत बसेर भगवान शिवलाई पतिको रूपमा प्राप्त गरेकी थिइन् भनिन्छ। त्यसैले महिलाहरू आज शिव मन्दिर जान्छन्, व्रत बस्छन् र शिवपार्वतीको पूजाआजा गर्दै दाम्पत्य जीवन सुखमय होस् भन्ने कामना पनि गर्छन्। तर आज हाम्रो देशमा बिवाहित नेपाली महिलाहरुले तीज प्रमुख चाडपर्व मानि एकमहिना देखि रमाइलो संग मनाउदै आएपनी किन आजकाल उनिहरुको आफ्नो पति संग द्वन्द बढी रहेकोछ ? किन पारपाचुके ( Divorce ) को संख्या पनि दिनहुुँ बढी रहेको छ ? हिन्दु धर्ममा बिवाहा सात जन्मको बन्धन मानिएता पनि किन येस्तो हाम्रो हिन्दु समाजमा भइरहेको होला भन्ने सन्दर्भमा मलाई लागेका केही कुरा हरू राख्दैछु। यो कति ठिक वा बेठिक छन् , त्यो यहाँहरुले तल आफ्नो कमेन्टमा आफ्नो बिचार राख्नु होला भन्ने चाहान्छु। पति पत्नी बिच बैवाहिक सम्बन्ध बिच्छेद सम्बन्धि कारणहरु धेरै हुन सक्छन्।

१. पति – पत्नी बिच संचार र बुझाइको कमी
विवाह सफल हुनका लागि सबै भन्दा जरुरी कुरा संवाद हो। तर व्यस्त जीवनशैली, मोबाइल र सामाजिक सञ्जालमा डुबेको समय, अनि भावनात्मक अभिव्यक्तिको कमीले पति – पत्नी बीच दूरी बढाएको छ। समस्या बोल्न नपाउने र एकअर्कालाई नबुझ्ने बानीले सम्बन्धमा चिरा पारेको देखिन्छ।

२. आर्थिक कारण
दुवै बेरोजगारी , पति वा पत्नी मध्ये एक मात्र रोजगार , आम्दानी – खर्चको असन्तुलन वा अत्यधिक भौतिक वस्तुहरुको उपभोगको चाहनाहरु पनि अचेल दाम्पत्य जीवनमा तनाव ल्याउने प्रमुख कारण बनेका छन्। कतिपय अवस्थामा पति वा पत्नी कुनै एक बढी खर्च गर्ने र अर्को नगर्न बानिले गर्दा पनि पैसाको कारणले पति पत्नी बिचको सम्बन्धलाई कमजोर बनाइ रहेकोछ ।

३. सहनशीलताको कमी
आजको पुस्ता बढी आत्म केन्द्रित हुँदै गएको छ। स–साना कुरामा पनि I Am WRITE भन्ने जिद्दीपन, गल्ती स्वीकार नगर्ने बानी र क्षमा गर्ने संस्कारको कमीले सम्बन्धलाई बिगार्दै लगेको छ । विवाह भनेको आत्मसम्मान संगै आत्म त्याग पनि हो भन्ने कुरा न बुझ्दा समस्याहरु खडा भइरहेको अवस्था छ।

४. विदेश रोजगारी र दूरी
हिजोआज हजारौं नेपाली युवा युवतीहरु रोजगारीका लागि विदेश मा लामो समय बस्छन्। कतिपय पति – पत्नीहरु एकै घरमा संगै नबस्दा प्रेम र भावनात्मक दूरी बढदै उनिहरुको बिचमा विश्वास कमजोर भइ रहेछ र त्यस्तो अवस्थामा युवा पति – पत्नी बिचको सम्बन्धमा तेस्रो व्यक्तिले प्रवेशको सृजना पनि एउटा प्रमुख कारण भइ रहेको देखिन्छ।

५. स्वतन्त्रताको चाहना
अहिलेको पुस्ता व्यक्तिगत स्वतन्त्रतालाई बढी प्राथमिकता दिन्छ। ” मेरो जीवन, मेरो तरिका ” भन्ने धारणा बढ्दै जाँदा पारिवारिक जिम्मेवारीलाई बेवास्ता गरिन्छ। प्रेम र विवाह लाई जिम्मेवारीभन्दा रमाइलोको रूपमा मात्र लिँदा सम्बन्ध टुट्दै गइरहेको देखिन्छ।

६. हिंसा, नशा , दुर्व्यवहार र असमानता कारण
घरायसी हिंसा, नशा, मानसिक तथा शारीरिक दुर्व्यवहार, वा महिलामाथि गरिने असमान व्यवहार अझै पनि अहिले नेपालमा पारपाचुके को ठुलो कारण बन्न पुगेछ।

७. सामाजिक धारणा परिवर्तन
पहिले समाज र परिवारको डरले विवाह लाई जोगाइन्थ्यो। दुःख सहेरै पनि सम्बन्ध निभाइन्थ्यो। तर अहिले समाज पनि ‘मन नबुझे छुटे हुन्छ’ भन्ने सोचतर्फ गएको छ। अहिलेको नेपाल कानुनले पनि पारपाचुकेलाई सहज बनाएको छ । नेपालको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा मात्र नेपालभर ४०,००० भन्दा बढी पारपाचुके उजुरी अदालतमा दर्ता भएका छन। काठमाडौंमा मात्र दैनिक १३ जोडी सम्बन्ध टुट्छन् भनिन्छ। कतिपय जिल्लामा त नागरिक मुद्दामध्ये ६०% सम्म पारपाचुके सम्बन्धी हुन्छन्।

मेरो विचारमा सम्बन्ध बिच्छेदलाई आधुनिक समाजले ठिक वा गलत भनेर एउटै चौखुट्टामा राखेर मूल्याङ्कन गर्नु हुँदैन जस्तो लाग्छ। यदि सम्बन्धले जीवनलाई अन्धकारतर्फ धकेल्दैछ भने त्यो बिच्छेद सही कदम हो। तर यदि समस्या केवल संवाद,सहनशीलता र आपसी बुझाइको कमी हो भने समाधान खोज्नु नै बुद्धिमानी होला। त्यसैले तीज पर्वलाई आज हामिले धार्मिक रुपमा पाप र पुन्यको नजरले मात्र होइन कि आजको आधुनिक समाजको बदलिँदो अवस्थाको स्वरुपमा पनि हेर्नू पर्छ होला। अन्त्यमा , स्वदेश र विदेश बस्ने सबै नेपाली महिलाहरूमा मेरो तीजको शुभकामना। धन्यवाद !

प्रतिक्रिया