तीज

तीज वास्तवमा तीन वटा हुने गर्दछ । साउन पछिका तीन पक्षका तृतीयामा गरिने पूजा भएको हुँदा तीज भनिएको थियो कालान्तरमा यसको नाम तीज रहन गएको हो । प्रत्येक साउन शुक्ल तृतीया, भाद्र कृष्ण तृतीया तथा भाद्र शुक्ल तृतीया गरेर हरेक पन्ध्र दिनमा तीन पटक तीजको पूजा हुने गर्दछ ।
तर अचेल एउटै हरितालिका तीज मात्र मनाउने गरिएको पाइन्छ । पहिलो तीज हरियाली तीज र दोस्रो तीज ठुलो तीजका रूपमा मनाइन्छ । पहिलो तीजमा अविवाहित र विवाहित दुवैले व्रत बस्न सकिन्छ । दोस्रो तीजमा केवल पार्वतीको पूजा गरिन्छ । तेस्रो तीज हरितालिका तीजमा पनि विवाहित र अविवाहित महिला सबैले व्रत बस्ने गर्दछ ।
नेपालमा भने हरितालिका तीज मात्रै मनाउने गरिन्छ । वास्तवमा हरितालिका तीजको अर्थ पार्वतीको विवाह विष्णुसँग हुन लागे पछि पार्वतीको साथीहरूले उनको घरबाट हरण गरेर अर्थात् लुकाएर जङ्गल लगि विष्णुसँग विवाह हुनबाट जोगाएको हुँदा यो दिनको तीजलाई हरितालिका तीज भन्ने गरिएको हो ।
हरित (अपहरित) तथा आलिका (महिला मित्र) शब्दबाट हरितालिका हुन गएको हो । वास्तवमा बिष्णु भगवानले पार्वतीले साँच्चै महादेव नै पति पाउँ भनेर व्रत बसेको हो वा सुन्दर पति पाउँ भनेर बसेको भन्ने परीक्षा लिन पुगेका थिए । तर पार्वती महादेव भन्दा पनि सुन्दर विष्णु भगवानले विवाह गर्न आउँदा पनि लुकेर जङ्गल गई अझ कठोर व्रत बसेपछि महादेवले दर्शन दिई विवाहका लागि मन्जुर भएका थिए । यसैले यस दिन जसले कठोर व्रत बस्दछ उसले आफूले चाहेकै पति पाउँछ भन्ने मान्यता छ ।
तीजको व्रतलाई विभिन्न आख्यानका उदाहरण दिएर हजारौँ वर्ष देखि गरिँदै आएको भन्ने वर्णन गर्ने गरिन्छ । तर तीजको व्रतको बारेमा पहिलो पटक सत्रौँ शताब्दीमा लेखिएका व्रतका किताबहरूमा मात्र उल्लेख गरिएको भेटिन्छ । त्यसभन्दा अगाडि लेखिएका व्रतका किताबहरूमा हरितालिका तीजको व्रतको कतै उल्लेख गरिएको पाइँदैन ।
वि.सं. १६६९ मा कमलाकर भट्टले कर्मकाण्ड तथा व्रतका विषयमा निर्णय सिन्धु पुस्तक लेख्दा मात्र हरितालिका तीजको व्रतका बारेमा लेखे । यस पछि शङ्कर भट्ट द्वारा लिखित ब्रतार्क, विश्वनाथ द्वारा लिखित ब्रतराज, विष्णु भट्टको अहल्या कामधेनु जस्ता व्रत सम्बन्धी लेखिएका पुस्तकहरूमा पनि उल्लेख गरेको भेटिन्छ । यसरी सत्रौँ शताब्दीमा मात्र भारतमा हरितालिका तीजको व्रत बस्ने परम्पराको सुरुवात भएको मान्न सकिन्छ ।
यसका साथै हरितालिका व्रतको भोलिपल्ट गणेश चतुर्थी तथा पर्सिपल्ट ऋषि पञ्चमीको पूजा गर्ने गरिन्छ । यी दुवै पूजालाई पनि हरितालिकासँग नै गाँस्ने गरिन्छ । गणेश चतुर्थीलाई भने गणेशको जन्म दिनका रूपमा लिने गरिन्छ । हिन्दु आख्यानहरूका अनुसार गणेश पार्वतीको गर्भबाट जन्म भएको छोरो होइन । आफैबाट सिर्जित र द्वारपालका रूपमा राखिएकोमा महादेवको क्रोधले शिर काटिदिए पछि पार्वतीको बिन्तीले गर्दा पुन हात्तीको शिर जोडेर जीवित पारिदिएको भनिन्छ । कथा यस्तै छ मानव त्यो पनि भर्खरै सिर्जित सानो स्वरूपमा विशाल हात्तीको शिर जोडिन सक्नु सम्भव जस्तो लाग्दैन तर आख्यानहरूमा लेखिए पछि र आस्थासँग गाँसिए पछि सम्भव मान्नै पर्दछ । नेवाः समुदाय यस दिन चथाःका रूपमा पूजा गर्ने गर्दछन् ।
तेस्रो दिनलाई ऋषि पञ्चमीका रूपमा पुज्ने गरिन्छ । वास्तवमा ऋषीपञ्चमी पुरुषहरूले पूजा गर्नका लागि मनाउन थालिएको हो । तीज प्रति महिलाहरूका उल्लासका कारणले गर्दा बिस्तारै ऋषीपञ्चमी पनि महिलाहरूकै पर्वका रूपमा स्थापित हुन पुग्यो । अचेल ऋषीपञ्चमीका दिन पुरुषहरू व्रत बसेको बिरलै भेटिन्छ ।
यसरी विभिन्न आख्यानहरूले गर्दा हाम्रा जीवनमा बनाइएका अन्धविश्वासहरू हुन् । यी सबैमा धर्म प्रतिका आस्थाले गर्दा अविच्छिन्न रूपमा गाँसिन थालेका हुन् । के साँच्चै यी व्रतहरूले महिलाले सोचे जस्ता वर पाउँछन् वा यसरी व्रत बसेर पाएका पति, महिलाले सोचे जस्तो वा चाहे जस्तो नै हुने गर्दछ भन्ने प्रश्नको जवाफ पाइँदैन । विवाह भनेको सम्झौता हो । दुई परिवारको मेल हो । जबसम्म पति र पत्नीले एक अर्काका गुण र अवगुणहरूमा सम्झौता गर्दैन विवाह सफल हुन सक्दैन । पतिका अवगुण मात्रै खोज्दै हिँड्ने वा देख्ने तथा पत्नीको अवगुण र दोष मात्रै देख्ने र खोज्दै हिँड्ने गरेमा दाम्पत्य जीवन सुखद हुँदैन । मानव भएर जन्मे पछि हरेक महिला तथा पुरुषमा गुणहरूका साथ अवगुणहरू पनि भरिएका हुन्छन् । यसलाई हामीले स्वीकार गर्नपर्दछ ।
नेवाःहरुले मान्ने लाखेको कथामा एउटा कथा यस्तो पनि छ । एक पटक नामुद तान्त्रिकले मानिसहरूमा भएका अवगुणहरू सबै मन्त्रका बलले खिँचेर माटोको ठुलो भाँडामा राखेर बन्द गरेछ । तर केही समय पछि ती अवगुणहरूबाट राक्षस बनेछ । मानिस भने देवता सरह बनेछ । मानिसमा छलकपट तथा अवगुणहरू केही पनि नहुँदा समाज अधुरो भएछ । उता अवगुणहरूले मात्र भरिएको राक्षसले सबैलाई दुख दिन थालेछ । त्यसपछि राजाले फेरी मानिसमा भएको आधा गुण राक्षसमा राखेछ र राक्षसमा भएको आधा अवगुण ल्याएर मानिसमा राखेछ । त्यसपछि भने हेर्दा डरलाग्दो राक्षस मानिसको लागि सहयोगी भएर लाखे भएछ । मानिसहरूमा भने राक्षसको आधा अवगुणहरू राखिए पछि मानिस हेर्दा शान्त र सौम्य तर भित्र भित्रै लुकेको राक्षसीपन पनि हुन थालेछ । यसर्थ मानिसहरू बाहिर जस्तो देखिए पनि भित्र कतै न कतै उ भित्र पनि अवगुणहरू वा राक्षसीपन लुकेकै हुन्छ ।
पूर्णरुपमा भगवान् झैँ गुण मात्र भएको पुरुष वा पति हुनै सक्दैन । जो आफूले प्राप्त गर्यो उ बाट सन्तुष्ट हुन सक्यो भने जीवन सुखमय हुन्छ । तर अरूलाई हेरेर आफ्ना पति निकम्मा वा गलत सोच्न थाल्यो भने वैवाहिक जीवन सुखमय हुँदैन ।
तर अचेल तीज भड्किलो पर्वका रूपमा परिवर्तन हुँदै गएको छ । गहना तथा पोसाकको प्रदर्शन तथा पार्टी प्यालेसहरूमा जमघट भएर उच्छुंखल नृत्य गरेको हामी पाउँछौ । तीजका दिन दिनभर निराहार बसेर व्रत बस्नुपर्ने हुँदा एक दिन अगाडि दर खाने भन्दै मिष्टान्न खाने परम्परा रहेकोमा अचेल भने महिनौँ अगाडि देखि दर खाने कार्यक्रम राखेको हामी पाउँछौ । साथै तीजको व्रतका दिन पूजा गरेपछि रमाइलोका लागि गरिने नाचगान पनि अश्लील लाग्ने गीतहरू र उच्छृङ्खल नृत्यले भरिएको पाउँछौ । यसले समाजमा चाडपर्व भनेको केवल धनीका लागि मात्र हो र खर्च गर्न सक्नेहरूका लागि मात्र हो कि भन्ने बुझाउन थालिसकेको छ । यस किसिमको विकृतिबाट समाज मुक्त हुनुपर्दछ ।
करिब ६० वर्ष अगाडि तीज पर्व भड्किलो थिएन भन्ने यी तस्बिरहरूले प्रमाणित गर्दछ ।

प्रतिक्रिया