मुख्यमन्त्री आचार्यसँग शान्सी प्रान्तका उपसभामुखको भेट

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउन सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
उक्त प्रान्तको जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उनले पर्यटन, संस्कृति, हरित विकास, स्मार्ट सहर निर्माण, कृषि व्यवसायीकरण, शिक्षा तथा सीप विकासजस्ता क्षेत्रमा सहकार्यको आवश्यकता औँल्याए । उनले लुम्बिनी प्रदेशका जितगढी किल्ला, निग्लीहवा, तिलौराकोट, रामग्रामलगायतस्थललाई बौद्ध सांस्कृतिक केन्द्रका रूपमा विकास गर्न चीनसँग सहकार्य गर्न सकिने बताए ।
चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमणका क्रममा लुम्बिनी क्षेत्रलाई नेपाल–चीन सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा विशेष उल्लेख गरेको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले साझा इतिहास, संस्कृति र मित्रतालाई अझ बलियो बनाउन दुवै प्रदेशले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
उपसभामुख चाङले दुई पक्षबीच गहन छलफल भएको उल्लेख गर्दै पर्यटन पूर्वाधार, स्मार्ट सिटी निर्माण, सौर्य तथा वायु ऊर्जा, प्राविधिक शिक्षा, सीपयुक्त जनशक्ति विकास, वनस्पति तथा जडीबुटी प्रशोधनलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।
त्यस अवसरमा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले पूर्वाधार विकास, दिगो पर्यटन विकास तथा सम्पदा प्रवर्द्धन, कृषिको आधुनिकीकरण, औद्योगिकीकरणलाई प्राथमिकतामा राखेर प्रदेशले काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया