क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने डडेल्धुरा भागेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय सुरेश नाथ र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१३ बस्ने संखुवासभा मकालु गाउँपालिका–४ घर भएका ४३ वर्षीय धन बहादुर राई रहेका छन् ।
पक्राउ मध्ये सुरेशले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख १ हजार रूपैयाँ र धन बहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट र धन बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ
इटहरी उपमहानगरपालिका–२० नविन भिलेजबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित खोटाङ घर भएकी ३८ वर्षीया निर्मला राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, इनरूवा नगरपालिका–४ बसचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १५ ट्याब्लेट, स्पास्मो २४ ट्याब्लेट र नाइट्रोसेन १७ ट्याब्लेट सहित बराहक्षेत्र नगरपालिका–५ बस्ने २७ वर्षीय सुरज तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरूवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नुवाकोट, ककनी गाउँपालिका–२ काउलेस्थित सडकमा बा.प्र.०२–०५५ प ५१४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा चालक इलाम माईजोगमाई गाउँपालिका–५ बस्ने ४५ वर्षीय किरण राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
ललितपुर महानगरपालिका–१८ आदिनाथ मार्ग हारमनी कोलनी बस्ने भैरव रिजालको घरबाट आईफोन २ थान लगायतका सामान गरी करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया