तीजको मौलिकतालाई निरन्तरता दिनुपर्छ : प्रदेश प्रमुख भट्ट

नेपालखोज २०८२ भदौ १० गते १९:५६

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले तीज पर्वको मौलिकता जोगाउनुपर्नेमा जोड दिएका छन् । पोखराको मालेपाटनस्थित सूर्यचन्द्र विकास समाजद्वारा आज आयोजित ११औँ मालेपाटन तीज गीत प्रतियोगिताको उद्घाटन गर्दै उनले पछिल्ला वर्षमा यसको मौलिकपन हराउँदै गएको बताए ।

पछिल्लो समयमा निराहार व्रत बस्नुअघि माइत गएर खाइने दर हप्तौँअघि होटल तथा पार्टी प्यालेसहरूमा खाने प्रचलन बढ्दो रहेको बताउँदै उनले सुसभ्य तीज गीतहरू सुन्नै मुस्किलको अवस्था रहेको उल्लेख गरे । समाजले आयोजना गरेको तीज गीत प्रतियोगिताले हाम्रा परम्परागत तीजे भाका जीवन्त राख्न सघाउ पुर्‍याउने उनको भनाइ छ ।

संस्कृति सम्पूर्ण समाजको जीवन पद्धति रहेको बताउँदै उहाँले मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कला संस्कृतिमा समाविष्ट हुने उल्लेख गरे । हाम्रा सन्ततिलाई दिने भनेकै हामीसँग भएको संस्कार, संस्कृति, रीतिरिवाज र चालचलन हो, प्रदेश प्रमुख भट्टले भने, धार्मिक, सामाजिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व र विशेषता भएका यस्ता पर्वहरूको संरक्षण गर्नु हामी सबैको साझा कर्तव्य हो । विसं २०५१ मा स्थापित संस्थाले ३१ वर्षको लामो अवधिमा गरेका सामाजिक कार्यको उनले प्रशंसा व्यक्त गरे ।

प्रतिक्रिया